भोजपुरका ३ प्रतिशत स्थानीय जनप्रतिनिधि नेकपा एसमा, समानान्तर अध्यक्षसहितले छाडे माधवको साथ – Nepal Press

भोजपुरका ३ प्रतिशत स्थानीय जनप्रतिनिधि नेकपा एसमा, समानान्तर अध्यक्षसहितले छाडे माधवको साथ

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा नेकपा एमाले विभाजनको असर न्यून परेको छ । तत्कालीन नेकपामा विवाद हुँदादेखि प्रचण्ड-माधव र त्यसपछि माधव नेपाललाई साथ दिएका अधिकांश नेता एवं जनप्रतिनिधिले अन्तत: एमाले नै रोजेका छन् ।

भोजपुरमा २ नगरपालिकासहित ९ स्थानीय तह छन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका २१२ जना निर्वाचित भएका थिए । तीमध्ये करिब ३ प्रतिशत अर्थात ६ जनाले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । एमाले छाडेका भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राईले नेकपा एसमा सनाखत गरे ।

एकीकृत समाजवादी रोज्ने अन्य जनप्रतिनिधिहरूमा भोजपुर ७ नम्बर वडा सदस्य राधिका तामाङ र षडानन्द नगरपालिकाका वडा सदस्य विशाल राई छन् ।

त्यस्तै षडानन्द नगर कार्यपालिका सदस्यद्वय सुमन राई र गोविन्द विक नेकपा एसमा लागेका छन् । नेकपा एसका प्रभावशाली युवा नेता राजेन्द्र राईको गृहजिल्ला हो भोजपुर । भोजपुर ‘क’ बाट प्रदेशसभामा निर्वाचित राईको गृहस्थल षडानन्द नगरपालिकाका जनप्रतिनिधिमा समेत एमाले विभाजनको असर नगण्य देखियो ।

तर, नेकपा एसनिकटका युवा नेता सन्दीप राई भन्छन्, ‘ सूर्य र ठूलो पार्टी भनेर टिकटको लोभमा केही जनप्रतिनिधि बसेका छन् । चुनावमा केपी ओली प्रवृत्तिलाई जनताले बडार्छन् ।’

संगठन विस्तार र युवा परिचालनमा अब्बल मानिएका शरणकुमार राई, केन्द्रीय सदस्य हरिबहादुर राईलगायतका नेताले एमालेमै बस्ने निर्णय गरेपछि पार्टी विभाजनलाई साथ दिनेहरूको संख्या घटेको हो । शरण एमाले विवादमा माधवपक्षीय समानान्तर कमिटीका अध्यक्ष हुन् ।

त्यस्तै संचारमन्त्री र प्रदेश १ का मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेर केन्द्रीय राजनीतिमा उचाइ बनाइसकेका शेरधन राईको प्रभावका कारण पनि जिल्लामा एमाले विभाजनले खासै असर पारेको देखिएन । उनीनिकटका एक नेता पार्टीलाई तेजिलो गति दिन शेरधनले मुख्यमन्त्री पद त्यागेको भन्दै राईको ‘कन्भिसिङ पावर’ का कारण पनि एमालेलाई ‘धक्का’ नलागेको जिकिर गर्छन् ।

भोजपुर र षडानन्द नगरपालिका साथै साल्पासिलिछो गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो । षडानन्द नगरपालिका उपमेयर मेरिका राई र साल्पासिलिछो गाउँपालिका उपमेयर धनमाया राई एमालेमै छन् ।

एमालेकै प्रमुख र उपप्रमुख रहेको टेम्केमैयुङ गाउँपालिकामा उपप्रमुखले नेकपा एस रोजिन् । टेम्केमैयुङका प्रमुख ध्रुव राई यसअघि माधव नेपालतिर रहेपनि पार्टी विभाजनमा उनले साथ दिएनन् ।

हतुवागढी गाउँपालिकाका दुवै पदमा एमाले विजयी भएको थियो । यहाँका प्रमुख प्रेमकुमार राई एमाले जिल्ला अध्यक्षसमेत हुन् । उपप्रमुख चन्द्रमा राईको यसबीचमा निधन भएको छ । रामप्रसादराई र पौवादुङ्‍मा गाउँपालिकामा प्रमुख विजय राई र किरण राई एमालेमै छन् ।

आमचोक गाउँपालिकाका ४, हतुवागढी गाउँपालिकाका ५, रामप्रसादराई गाउँपालिकाका ५, टेम्केमैयुङ गाउँपालिकाका ७, साल्पासिलिछो गाउँपालिकाका २, पौवादुङ्मा गाउँपालिकाका १, भोजपुर नगरपालिकाका ५ र षडानन्द नगरपालिकाका ९ गरी जिल्लाभर एमालेले जितेका सबै ३८ वडाध्यक्ष पार्टी फुटमा सहभागी भएनन् । अरुण गाउँपालिका भने प्रमुख-उपप्रमुख र वडाध्यक्षमा एमाले पराजित भएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का पनि एमालेमै रहेका छन् । यसअघि उनी माधवतिर थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर