कोभिड महामारीविरुद्ध लड्न स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई बलियो तुल्याउने प्रतिबद्धता – Nepal Press
डब्लुएचओको काठमाडौं बैठक जारी

कोभिड महामारीविरुद्ध लड्न स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई बलियो तुल्याउने प्रतिबद्धता

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीविरुद्ध लड्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालका लागि तयारी गर्न सुरक्षा प्रणालीलाई बलियो बनाउनेबारे छलफल गरेका छन् । काठमाडौंमा जारी डब्लुएचओ दक्षिणपूर्वी एसियाली सदस्य मुलुकहरुको ७४ औं बैठकको तेस्रो दिन बिहीबार महामारीविरुद्ध मिलेर लड्नेबारे छलफल भएको हो ।

“कोभिड-१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ । कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएनन् । स्वास्थ्य सुरक्षा प्रणाली सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ,” विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनिन् ।

आपतकालीन जोखिम व्यवस्थापनलाई बलियो तुल्याउनेबारे सन् २०१४ देखि विश्व स्वास्थ्य सङ्गठनले कार्य गर्दै जनाउँदै उनले सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीपछि पश्चात यस क्षेत्रले प्रतिकार्यको क्षमता निरन्तर रूपमा वृद्धि गर्दै आएको स्मरण समेत गरिन् ।

कोभिड महामारी शुरु हुनुभन्दा केही महिना पहिले मात्र, यस क्षेत्रका सदस्य राष्ट्रहरूले ‘दिल्ली घोषणापत्र’ अनुमोदन गरेका थिए जसको उद्देश्य जोखिमको लेखाजोखालाई विस्तार गरेर, लगानी अभिवृद्धि गरेर र बहुक्षेत्रीय योजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाएर आपतकालीन तयारी क्षमतालाई थप सुदृढ बनाउने थियो ।

विगतका वर्षहरूमा सदस्य राष्ट्रहरूले स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) को कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति गरेका थिए ।

“राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन् र साथै महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन्”, क्षेत्रीय निर्देशकले भनिन्, ‘हाम्रा स्वास्थ्य सुरक्षा प्रणाली र प्रबन्धमा भएका गम्भीर कमीकमजोरी तथा अन्तरहरूलाई सम्बोधन गर्न जरुरी रहेको छ ।’

सदस्य राष्ट्रहरूले आजको बैठकमा आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नता लगायतका तयारी प्रक्रियाका विभिन्न पक्षहरूको समीक्षा तथा सुधारका बारेमा पनि छलफल गरेका छन् ।

कोभिड महामारीबाट आफूहरुले निगरानी तथा सम्पर्कमा आएका व्यक्तिको खोजी कार्यदेखि लिएर क्लिनिकल व्यवस्थापन, प्रयोगशाला परीक्षण, खोप कार्यक्रम, तथा सामुदायिक संलग्नता लगायतका प्रतिकार्यका विभिन्न पक्षहरूको आकस्मिक रूपमा असामान्य स्तरमा क्षमता विस्तार गर्नुपर्ने आवश्यकताका लागि पनि योजना बनाउन जरुरी छ रहेको पाठ सिकेको सदस्य मुलुकहरुले बताएका छन् ।

डा. खेत्रपाल सिंहले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरू तर्जुमा र कार्यान्वयन गरेर र तिनलाई स्वास्थ्य प्रणाली सबलीकरणका प्रयासहरूसँग जोडेर राष्ट्रहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) अन्तर्गत आवश्यक पर्ने मुख्य क्षमताहरू निर्माण गर्ने, तिनलाई सुदृढ बनाउने र कायम राख्ने कार्य गर्नु जरुरी रहेको बताइन् ।

“हालको महामारीको प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने महामारी, आपतकाल तथा प्रकोपहरूका लागि अझ राम्रो तयारी गर्नका लागि स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्य क्षमतालाई थप सबलीकरण गर्नका लागि आवश्यक पर्ने प्राथमिकता तथा कायहरू हामीले पहिचान गर्न हामीले काम गर्नुपर्छ,” क्षेत्रीय निर्देशकले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर