आज हुने ब्रिक्स सम्मेलनमा मोदी, सी र पुटिनले छलफल गर्दै, अफगानिस्तान मुख्य एजेन्डा हुने – Nepal Press

आज हुने ब्रिक्स सम्मेलनमा मोदी, सी र पुटिनले छलफल गर्दै, अफगानिस्तान मुख्य एजेन्डा हुने

काठमाडौँ । पाँच ठूला उदाउँदा अर्थतन्त्रहरुको समूह ‘ब्रिक्स’ को १३औं शिखर सम्मेलन आज आयोजना हुँदैछ । बेलुका ६ बजे भर्चुअल माध्यममार्फत आयोजना हुने सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा र ब्राजिली राष्ट्रपति जायर बोल्सोनारोले भाग लिने भएका छन् ।

सम्मेलनको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले दोस्रो पटक ब्रिक्स सम्मेलनको अध्यक्षता गर्नेछन् । अमेरिकी नेतृत्वको जी–सेभेनलाई चुनौति दिने गरि गठन भएको ब्रिक्सलाई उदाउँदा राष्ट्रहरुको समूह पनि भनिन्छ ।

सन् २०१६ मा गोवामा आयोजित सम्मेलनमा तत्काल नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाग लिएका थिए । सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई सम्मेलनमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको थियो । उक्त सम्मेलनमा दाहाललेसी सी जिनपिङ र मोदीसँग भेटवार्ता गरेका थिए जुन निकै चर्चा भएको थियो ।

यसपटकको ब्रिक्समा अफगानिस्तान मुद्दा केन्द्रमा रहने जनाइएको छ । तालिबानले नयाँ अफगानिस्तान सरकार गठन गरेपछि चीनले समर्थन जनाएको छ भने रुस र भारतले अहिले पनि तालिबानलाई मान्यता दिएका छैनन् । मोदीले आतंकवादको मुद्दा उठान गर्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।

ब्रिक्स स्थापना भएको १५ वर्ष पुगेको छ । यस वर्ष सम्मेलनको विषय ‘ब्रिक्स एट फिप्टिन– इन्ट्रा–ब्रिक्स कोअपरेसन फर कन्टिनुइटी, कन्सोलिडेसन एन्ड कन्सेन्सस’ तय गरिएको छ । बहुपक्षीय प्रणालीमा सुधार, आतंकवादविरुद्धको लडाइँ, विकासको लक्ष्य प्राप्तिका लागि डिजिटल र प्रविधिको उपयोग र अन्तरदेशीय सम्पर्क बढाउने कुरामा छलफल हुने बताइएको छ ।

कोभिड–१९ महामारी नियन्त्रणबारे पनि ब्रिक्स मुलुकले छलफल गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर