देवघाटको वृद्धाश्रममा प्रेस चौतारी चितवनले खुवायो दर – Nepal Press

देवघाटको वृद्धाश्रममा प्रेस चौतारी चितवनले खुवायो दर

चितवन । हरितालिका तीजको अवसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले देवघाटको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई बुधधबार दर खुवाएको छ । परिवारबाट अपहेलित भएर आश्रममा आएका वृद्धवृद्धालाई चाडपर्वको बेलामा एक्लोपन महसुस नहोस् भनेर दर खुवाउने कार्यक्रम गरिएको प्रेस चौतारी चितवनले जनाएको छ ।

आश्रमममा ४० जना वृद्धवृद्धा आश्रित छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटका वृद्धवृद्धालाई छोराछोरी जस्तै बनेर सम्झिए । उनले भने, ‘देवघाटको सरकारी आश्रमलाई बार्षिक नियमित पूँजीगत बजेटका लागि नीतिगत निर्णय गरिने छ ।’

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि बद्रि अधिकारीले सामाजिक उत्तरदायित्व र सेवा भावले ओतप्रोत भएर प्रेस चौतारीले आश्रममा रहेका बुबा आमालाई चाडपर्वको बेलामा सम्झिएर दर खुवाउने कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा आश्रमका अध्यष धिरनबाबु घिमिरेले आश्रममा आश्रित बुवाआमालाई विहान बेलुका खाना खुवाउन दाताकै भरपर्नुपर्ने दुःखद अवस्था भएको बताए ।

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य शिशिर सिम्खडाले चाडपर्वका बेलामा आश्रमका बुवाआमालाई वितेको बेलाको याद बढि आउने भएकोले छोराछोरी बनेर सम्झना दिलाउन दर खुवाउने कार्यक्रम लिएर आश्रम आएको बताए ।

दर खुवाउने कार्यक्रमलाई कालिका नगरपालिका वडा नं. ६ भई हाल काठमाडौं बस्ने विकास बन्जरा र सविना बन्जराले छोरी साधना बञ्जराको प्रथम जन्मोत्सवको अवसर पारेर सहयोग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर