बेलायत सरकारले भुतपूर्व गोर्खा सैनिकको पेन्सनमा वृद्धि गर्ने (पत्रसहित) – Nepal Press

बेलायत सरकारले भुतपूर्व गोर्खा सैनिकको पेन्सनमा वृद्धि गर्ने (पत्रसहित)

लन्डन । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सनमा वृद्धि गर्न लागेको जानकारी दिएको छ । रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र लेख्दै पेन्सन स्किमअनुसार भूपु गोर्खा सैनिकको पेन्सन वृद्धि गर्न सरकार तयार रहेको जनाएको हो ।

तर, सन् १९९७ भन्दा पहिला सेवा निवृत्त भएका गोर्खा सैनिकहरुको समान पेन्सनको मागबारे भने पत्रमा उल्लेख छैन । एनआरएन युकेका अध्यक्ष सन्ता गाहा मगरले अगस्ट १६ मा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्दै ब्रिटिस गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र समान सुविधाको माग तत्काल सम्बोधन गर्न गर्न आग्रह गरेका थिए ।

मंगलबार उक्त पत्रको जवाफ दिँदै बेलायती रक्षा मन्त्रालयले माग बमोजिम पेन्सन लगायतका सुविधा पुनरावलोकन गर्न सरकार तयार रहेको जनाएको हो ।

‘गोर्खा भेट्रान्सको सुविधा वृद्धि गर्न बेलायत सरकार तयार छ’ पत्रमा भनिएको छ, ‘त्यसका लागि बेलायत सरकारले यसै महीना (सेप्टेम्बर)मा छलफलको आयोजना गर्दैछ ।’ सो छलफलमा रक्षा मन्त्रालय, बेलायती सैनिक मुख्यालय, गोर्खा सैनिकका प्रतिनिधि र नेपाली राजदूत पनि सहभागि हुने जनाइएको छ ।

गत महीना सन् १९९७ भन्दा अघि सेवा निवृत्त भएका गोर्खा सैनिकहरुलाई समान पेन्सन दिलाउनुपर्ने माग गर्दै तीनजना भूपु गोर्खा सैनिक आमरण अनसनमा बसेका थिए । बेलायतले नेपाल सरकारसँग वार्ता गर्ने सहमतिपछि अनसन टुंगिएको थियो । यो साता तयारी वार्तापछि डिसेम्बरमा द्धिपक्षीय वार्ता हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर