कोभिड खोपसँगै नियमित खोप कार्यक्रमलाई पनि विस्तार गरौं : डब्लुएचओ – Nepal Press

कोभिड खोपसँगै नियमित खोप कार्यक्रमलाई पनि विस्तार गरौं : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दक्षिणपूर्वी एसियाली मुलुकहरुलाई कोभिड-१९ खोप अभियानमा तीव्रता दिन र खोप कार्यक्रमको परिमाण विस्तार गर्नका लागि आग्रह गरेको छ ।

क्षेत्रीय समितिको ७४ औं बैठकको क्रममा आज बोल्दै क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनिन्, ‘महामारीको कारण खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले पुनः फैलने जोखिम बढिरहेको छ । यस सम्बन्धमा विभिन्न प्रयासहरू गरिराखिएको भएता पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ ।’

महामारीको सुरुआतसम्म हासिल भएका उल्लेखनीय प्रगतिको स्मरण गराउँदै क्षेत्रीय निर्देशकले डीटीपी-३ खोपको कभरेज ९१ प्रतिशत पु¥याइसकेको हुनाले खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उक्त समयसम्मकै उत्कृष्ट अवस्थामा पुगिसकेको बताइन् ।

११ मध्ये १० देशहरूले डिटिपि-३ खोपको कभरेज ९० प्रतिशतभन्दा बढी हासिल गरिसकेका थिए ।

डब्लुएचओका अनुसार यस क्षेत्रका देशहरूले महामारीको दौरानमा अत्यावश्यक सेवाहरू पुनःसुचारु गर्दा नियमित खोप कार्यक्रमहरूलाई प्राथमिकता दिएका भएता पनि यस क्षेत्रको डीटीपी कभरेज ८५ प्रतिशतमा झरेको छ । सन् २०१९ मा खोप नै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रक्रिया पनि प्रभावित भएको छ ।

कोभिड-१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरूको कार्यान्वयनमा पनि असर पारेको डब्लुएचओले जनाएको छ। दादुराविरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ८८ प्रतिशतमा खुम्चिएको छ । दादुराविरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ७८ प्रतिशत पुगेको छ ।

“कोभिड-१९ ले पुर्‍याएको क्षतिलाई तुरुन्त पूर्ति गर्नुपर्ने, गएको दशकमा हासिल भएको प्रगतिको दरलाई पुनः प्राप्त गर्नुपर्ने, र शिशु, बालबालिका तथा वयस्कहरूलाई जीवन रक्षक खोपहरूद्वारा संरक्षण दिनुपर्ने आवश्यकता छ,” डा. खेत्रपाल सिंहले भनिन् ।

हाल जारी क्षेत्रीय समिति बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणाली तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानीको पुनःस्थापनामा केन्द्रित छ ।

“यस खाकाको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक तथा कार्यक्रमिक प्रतिबद्धता र साझेदारहरूको सहकार्य आवश्यक पर्नेछ जसका लागि विश्व स्वास्थ्य सङ्गठन प्रतिबद्ध छ,” क्षेत्रीय निर्देशकले भनिन् । अहिलेसम्म दक्षिणपूर्वी एसियाली क्षेत्रमा ९१ करोड ५० लाख मात्रा खोप लगाइसकिएको छ । हालैका हप्ताहरूमा भएको थप खोपको उपलब्धताले खोपको विस्तारमा सहयोग पुगेको जनाइएको छ ।

महामारीले दिएको चुनौतीका बावजुद यो क्षेत्रले पोलियो उन्मूलन तथा मातृ तथा शिशु टिटानस मुक्त अवस्थालाई कायम राखिराखेको छ । पाँचवटा देशहरू दादुरा मुक्त भएका छन् भने ती मध्ये दुई देशहरू रुबेला मुक्त पनि हुन सफल भएका छन् । चारवटा देशहरूले खोपको माध्यमबाट हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको पनि प्रमाणित भएको छ ।

क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी क्षेत्रको शासन गर्ने निकायको वार्षिक बैठक हो । यसपालीको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीको कारणले गर्दा गत वर्षदेखि भर्चुअल्ली गरिँदै आइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर