नेपालले खेल जित्यो, तर विदेशी भूमीमा ब्याटिङको लयभंग – Nepal Press
म्याच रिभ्यू

नेपालले खेल जित्यो, तर विदेशी भूमीमा ब्याटिङको लयभंग

पारसको अभावमा लड्खडाएको मध्यक्रम

काठमाडौं । करिब १७ महिनाको अन्तरालपछि नेपाल एक दिवसीय क्रिकेटमा फर्कियो र पपुवा न्यूगिनीविरुद्ध कठिन जित हासिल गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा हासिल भएको जितले खेलाडी र समर्थकलाई आनन्दित तुल्याउँछ नै । तर, यो जित नेपालले गर्व गर्नलायक भने भएन ।

नेपालले पहिलो बलिङ गर्दै विपक्षी टिमलाई १३४ रनमा अलआउट गरेको थियो । १३५ रनको लक्ष्य एकदिवसीय क्रिकेटमा मामुली मानिन्छ । यो लक्ष्य नेपालका लागि ‘केक वाक’ हुनुपर्थो , तर भएन । ब्याटिङमा नेपालले बलियो सुरुवात गरे पनि मध्यक्रमले लत्तो छोड्दा नेपाल झण्डै हारको मुखमा पुगेको थियो । धन्न तल्लो क्रमका दुई ब्याट्सम्यानले जिम्मेवारी निभाए ।

लामो ब्याटिङ लाइनअपको फाइदा

सामान्यतया कुनै पनि क्रिकेट टिममा ८ औं क्रमदेखि विसुद्ध बलरहरु हुन्छन् । तर, आज नेपालको प्लेइङ ११ मा ब्याटिङ लाइनअप निकै लामो थियो । नवौं नम्बरमा अलराउन्डर सोमपाल कामी थिए, जसले विगतमा ५–६ नम्बरमा पनि ब्याटिङ गरेका छन् ।

सोमपाल बाहेक नेपालसँग कुशल मल्ल, पवन सर्राफ, आरिफ सेखजस्ता अलराउन्डर थिए । खासमा आजको टोलीमा रहेका सन्दिप लामिछाने र विक्रम सोवबाहेक सबैले ब्याटिङ गर्न सक्छन् ।

लामो ब्याटिङ लाइनअप राख्नुको फाइदा नेपाललाई मिल्यो । अन्यथा ८२ रनमा ७ विकेट गुमाइसकेको अवस्थामा नेपाल लक्ष्यसम्म नपुग्न सक्थ्यो । मध्यक्रमका ब्याट्सम्यानहरु तासको पत्ता झैं एकपछि अर्को ढल्दै जाँदा ८ औं विकेटको साझेदारीले नेपाललाई जोगायो ।

रोहित र सोमपालको पार्टनरसिप

नेपालको जितका लागि बलरहरुले आधारशीला खडा गरिदिएका थिए, विपक्षीलाई सस्तोमा समेटेर । तर, अन्तत्वगत्वा रोहित पौडेल र सोमपाल कामीबीचको ५२ रनको साझेदारी नेपालको जितमा निर्णायक बन्न पुग्यो ।

पछिल्लो समय राम्रो फर्ममा नरहेका कारण रोहितले राष्ट्रिय टिममा आफ्नो स्थान बनाउन सकेका थिएनन् । अहिले पारसको सन्न्यास र चोटका कारण दिपेन्द्र सिंह ऐरीले टुर गुमाएपछि उनले मौका पाएका थिए । रोहितले आफ्नो कमब्याक सफल बनाएका छन् । टिमलाई आवश्यक परेको समयमा उनले योगदान दिए ।

उनले ६५ बलमा बनाएको ४१ रन नेपालका लागि बहुमूल्य थियो । यद्यपि, उनी नेपाललाई जिताएर क्रिजमा फर्किन भने चुके । जितका लागि मात्र एक रन आवश्यक रहेको अवस्थामा रोहित आउट भएका थिए ।

रोहितकैजस्तो मूल्यवान थियो सोमपाल कामीको इनिङ । नेपालले ८२ रनमा ७ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका सोमपाल अन्तिमसम्म क्रिजमा डटे । उनले ३२ बलमा २२ रन बनाएका थिए ।

पारसको अभावमा लड्खडाएको मध्यक्रम

नेपाली क्रिकेट टिमसँग अब पारस खड्का छैनन् । डेढ दशकभन्दा बढी समयदेखि नेपाली क्रिकेटको सेवा गरेका उनी ब्याटिङका खम्बा मानिन्थे । उनको अनुपस्थितिले ब्याटिङ लाइनमा ठूलो रिक्तता पैदा गरेको छ, जुन आज आज खट्कियो ।

सामान्यतया नेपालको कमजोर कडी मानिने ओपनरहरुले पहिलो विकेटका लागि ४६ रनको साझदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिएका थिए । त्यसपछि नेपालको जित फगत औपचारिकता ठानिएको थियो । तर मध्यक्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न नसकेपछि म्याचमा यु-टर्न आयो । नेपालका लागि १३५ रनको टार्गेट नै विशाल देखिन थाल्यो ।

४६ रनमा कुनै पनि विकेट नगुमाएको नेपालले ८२ रनसम्म आइपुग्दा ७ विकेट गुमाइसकेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल, आरिफ सेख, सरद भेषावकर, कुशल मल्ल र पवन सर्राफले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जम्माजम्मी ३६ रनका लागि नेपालले ७ विकेट गुमाउनुपरेको थियो । यो ब्याटिङ पतन नेपालका लागि चिन्ताको विषय हो । यसले नेपालको ब्याटिङमाथि पुरानै प्रश्नहरुको पुनरावृत्ति गरेको छ ।

सन्दिपको दवदवा

परम्परागतरुपमा उत्कृष्ट मानिँदै आएको नेपालको बलिङ पछिल्लो समय सन्दिप लामिछानमा धेरै निर्भर हुँदै गएको यथार्थ हो । फास्ट बलिङमा नेपाल अहिले त्यति भरपर्दो छैन ।

पीएनजीलाई सस्तो योगफलमा समेट्न नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । तर, नेतृत्वदायी भूमिका सन्दिपकै रह्यो । उनले विपक्षीका महत्वपूर्ण चार विकेट लिँदै म्यान अफ दि म्याच बनेका छन् । स्मरणीय के छ भने नेपालले खेलेको सबैभन्दा पछिल्लो म्याचमा पनि उनले जादुमयी बलिङ गर्दै ६ विकेट लिएका थिए । त्यो २०७६ सालको माघ २९ गते त्रिवि क्रिकेट मैदानमा भएको अमेरिकाविरुद्ध सन्दिपले किर्तिमानी बलिङ गरेका थिए । त्यही फर्मलाई उनले आज निरन्तरता दिएका छन् ।

राष्ट्रका लागि खेल्न विदेशी लिगलाई पन्छाएका सन्दिपले राष्ट्रिय टिममा आफ्नो महत्वलाई फेरि एकपटक प्रष्ट्याइदिएका छन् । आगामी म्याचहरुमा पनि नेपालले उनीमाथि धेरै निर्भर रहनुपर्ने छ ।

त्यसो त बलिङमा कुशल मल्ल पनि ‘अनसङ हिरो’ बने, जसले १९ रनको खर्चमा २ विकेट लिन सफल भए । पहिलो एकदिवसीय खेलिरहेका विक्रम सोबको पनि तारिफ गर्नैपर्छ, जसले सुरुमै दुई विकेट लिएर पीएनजीलाई दवावमा राखे । समग्रमा नेपालले आज बलिङमा आफ्नो उत्कृष्टता प्रस्तुत गर्यो ।

फेरि ब्याटिङकै चिन्ता

पाँच महिनाअघि गत वैशाखमा काठमाडौंमा आयोजित त्रिकोणात्मक टि-२० सिरिजमा नेपालको ब्याटिङ अभूतपुर्वरुपमा चम्केको थियो । नेदरल्यान्ड्सजस्तो बलियो टिमका बलरहरुलाई पनि नेपाली ब्याट्सम्यानहरुले रुवाएका थिए । ब्याट्सम्यानहरुले किर्तिमानमाथि किर्तिमान बनाएको उक्त सिरिजले नेपालको ब्याटिङ स्तर निकै माथि उठेको छनक दियो ।

अहिले एकदिवसीय टोलीमा समावेश अधिकांस ब्याट्सम्यानहरु तीनै हुन्, जसले त्रिकोणात्मक सिरिजमा धुम मच्चाएका थिए । पारस खड्का त्यसबेला चोटका कारण टिममा थिएनन् । उनको अनुपस्थितिमा नै नेपालले जोशिलो ब्याटिङ गरेपछि क्रिकेट पण्डितले निस्कर्ष निकाले- नेपालको ब्याटिङमा धेरै सुधार आयो । तर, आजको म्याचलाई आधार मान्ने हो भने उक्त निस्कर्ष झुटो सावित भएको छ ।

नेपालको ब्याटिङमा फेरि पुरानै समस्या दोहोरियो । झिनो स्कोर पछ्याउने क्रममा पनि ब्याट्सम्यानहरु अनावश्यक दवावमा आए । स्वदेशी मैदानमा जुन आत्मविश्वास खेलाडीहरुले देखाएका थिए, विदेशी मैदानमा त्यो देखिएन । अनुभवी ब्याट्सम्यानहरु नै चलेनन् ।

यद्यपि, पहिलो म्याचबाटै निस्कर्षमा पुगिहाल्नु पनि हतारो हुन्छ । ब्याट्म्सयानहरुसँग अझै समय छ, आफूलाई प्रमाणित गर्ने । टि-२० श्रृंखलामा तहल्का पिटेका कुशल भुर्तेलदेखि तल्लो क्रममा पवन सर्राफसम्म सम्भावना बोकेका युवा ब्याट्सम्यानहरु टिममा छन् । ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर जस्ता अनुभवि हातहरु छन् । सबैले आआफ्नो भूमिकामा न्याय गरेमा नेपालको ब्याटिङ लयमा फर्किनेमा शंका छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *