चितवनका ३१ जनप्रतिनिधिले रोजे नेकपा एसः पाँचजनाले सनाखत फिर्ता मागे, तीन स्थानीय तहमा शून्य – Nepal Press

चितवनका ३१ जनप्रतिनिधिले रोजे नेकपा एसः पाँचजनाले सनाखत फिर्ता मागे, तीन स्थानीय तहमा शून्य

चितवन । चितवनका ३१ जना जनप्रतिनिधिले एमाले विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी रोजेका छन् । जसमध्ये ११ जना वडाध्यक्ष छन् भने २५ जना सदस्यहरु छन् ।

चितवनमा एमालेबाट निर्वाचित ३ सय ९ जना जनप्रतिनिधिमध्ये नेकपा एसको पक्षमा ज्यादै न्यून जनप्रतिनिधिहरु उभिएका छन् । ३६ जनाले एमाले त्याग गरेर एकी कृत समाजवादी दल रोजेर सनाखत गरेकोमा ५ जना सदस्यहरुले सनाखत फिर्ताका लागि निवेदन दिएका छन् ।

अज्ञानबस दल त्याग गरेकाले एमालेमै रहने भन्दै निवेदन दिनेहरुमा भरतपुर १५ का रामबहादुर लामा, २२ मन देउमाया विक, रत्ननगर ३ का विमला परियार, ६ का कृष्णहरी परियार र ८ का कुमारी विक छन् । तर, उनीहरुको सनाखत फिर्ता हुने वा नहुनेबारे निर्वाचन आयोगले केही दिनमा निर्णय गर्नेछ ।

दल परिवर्तन गर्नेहरुमा भरतपुर महानगरका वडाध्यक्षहरु ७ का राजेन्द्रमणि काफ्ले, ९ का यमलाल कँडेल, १० का अरुणपीडित भण्डारी, १२ का नरेन्द्र कनदङवा र २२ का विष्णुराज महतो छन् । भरतपुर महानगरमा एमालेका १३ वडाध्यक्ष सहित ६९ जनप्रतिनिधि निर्वाचित भएकोमा १५ जनामात्रै नेकपा एसमा लागेका हुन् ।

रत्ननगरमा वडाध्यक्षहरु ५ का कृष्ण महतो, ९ का रोशन आचार्य, १४ का हरिकुमार श्रेष्ठ र १५ का हुमनाथ लामिछाने छन् । रत्ननगरमा मेयर, उपमेयर, १० वडाध्यक्ष सहित एमालेबाट ५२ जना एमालेबाट निर्वाचित थिए । जसमध्ये १६ जना जनप्रतिनिधिमात्रै नयाँ दलमा लागेका छन् ।

राप्तीमा ४ नम्बर वडाका वडाध्यक्ष शमशेर लामा र अन्य एक जना वडा सदस्य प्रवेश गरेका छन् । राप्तीमा मेयर, उपमेयर, ११ वडाध्यक्ष सहित एमालेबाट ५४ जना निर्वाचित थिए ।

माडी ३ का वडाध्यक्ष पुरन महतोसहित ३ जना एकीकृत समाजवादीमा लागेका छन् । माडीमा उपमेयरसहित ५ वडामा सेटसहित २६ जना जनप्रनिनिधिले एमालेबाट जितेका थिए ।

स्थानीय तहको चुनावमा चितवनमा एमालेबाट ३ सय ९ जना जनप्रतिनिधिमध्ये ४ मेयर र ५ उपमेयर, ५५ जना वडाध्यक्ष निर्वाचित थिए । चितवनका ३ स्थानीय तहमा नेकपा एसमा लाग्ने जनप्रतिनिधि शून्य देखिएको छ ।

कालिका, खैरहनी नगरपालिका, इच्छाकामना गाउँपालिकामा नेकपा एसमा लाग्ने जनप्रतिनिधि छैनन् । एमालेबाट कालिकामा मेयर, उपमेयर, ६ वडाध्यक्ष सहित ३४ जना, खैरहनीमा मेयर, उपमेयर, ७ वडाध्यक्षसहित ३८ जना, इच्छाकामनामा ३ वडाध्यक्षसहित १४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । चितवनमा ७ स्थानीय तहमा ९८ वडाहरु छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर