‘सेयर सुन्दरी’ का अन्तरकुन्तर – Nepal Press

‘सेयर सुन्दरी’ का अन्तरकुन्तर

काठमाडौं । यदि तपाईं नेपालको सेयर बजारमा रुची राख्नुहुन्छ भने राधा पोखरेलको नाम पक्कै सुन्नुभएको होला । सेयर लगानीकर्ताहरुको नेतृत्वदायी भूमिकामा रहेकी यी सुन्दरी मिडियाका आर्थिक पेजहरुमा बारम्बार झुल्किरहेकी हुन्छिन् ।

आवरणमा हेर्दा चमकदमकपूर्ण देखिन्छ राधाको जीवन । नामसँगै दामको कमि छैन । रुप-यौवनले धपक्क बलेकी छिन् । श्रृंगार र फेसनमा सम्झौता गर्दिनन् । महंगो गाडीमा सवार हुन्छिन् । यदाकदा अग्लो हिल लगाएर सडकमा ट्याकरट्याकर हिँडिन् भने धेरैको नजरमा पर्छिन् ।

राधालाई पहिलोपटक देख्नेहरु कुनै म्युजिक भिडियो खेल्ने मोडल हुन् कि भन्ने भ्रममा पर्न सक्छन् । तर, उनलाई यतातिर न रुची न फुर्सद । म्युजिक भिडियो खेल्ने त के हेर्ने फुर्सद पनि हुन्न उनलाई । सेयर बजारको उतारचढाव र हिसाबकिताब अनि, लगानीकर्ताहरुका विविध मुद्दाहरुको लविङ र दौडधुपमै व्यस्त रहन्छिन् उनी ।

तर, राधाको अन्तरकथा यो मात्रै होइन । उनले आजसम्म बाँचेको जीवनलाई आधा-आधा गरी दुई भाग लगाउन सकिन्छ । पहिलो आधा भागमा उनले बाँच्नकै लागि संघर्ष गरिन् । दोस्रोमा चाहिँ सेयर बजारका लगानीकर्ताको हकहितका लागि संघर्षरत छिन् । यी दुई संघर्षका आयाम र आयतन भने निकै भिन्न छन् ।

बाल्यकालमै गम्भीर रोगको शिकार बनेकी थिइन् राधा । डाक्टरले भनेका थिए, बाँच्ने सम्भावना कम छ । उनले मृत्युलाई आफ्नो छेउछाउमै देखेकी थिइन् । तर, अन्तत मृत्युलाई जितिन् ।

आज हामी राधाको निजी जीवन त्यो पाटोलाई खोतल्दैछौं । आखिर किन उनी बारम्बार भन्ने गर्छिन्- यो मेरो बोनसको जिन्दगी हो ?

०००

बाबुआमाको पाचौं तथा कान्छी सन्तानका रुपमा आजकै दिन (२२ भदौ) मा जन्मेकी हुन् राधा । आज उनी जन्मदिन मनाउँदैछिन् । कतिऔं जन्मदिन हो ? आफैं अनुमान गर्नुस ।

महोत्तरी जिल्लाको बर्दिवासमा जन्मेकी हुन् राधा । जन्मँदा उनको अवस्था सामान्य थियो । तर, ३ वर्ष पुगेपछि केही असामान्य लक्षणहरु देखिन थाले । सुरुवातका कुराहरु उनको मानसपटलमा छैनन् । यद्यपि, बुवाआमाको मुखबाट सुनेकी छन् ।

‘सुरु-सुरुमा हातगोडाहरु राम्ररी नचल्ने, अनि खाएको कुरा वान्ता भइहाल्ने भएछ,’ राधाले सुनाइन्, ‘बिस्तारै समस्या बढ्दै गएर गम्भीर रुप लियो ।’

गाउँघरमा त्यही त हो, बिरामी भएपछि सबैभन्दा पहिले झारफुक सुरु हुन्छ । राधाका बुवाआमाले पनि सुरुमा धामीझाँक्रीको सहारा लिए । झारफुकपछि अलिक ठीक भएको भान हुन्थ्यो । तर त्यो भ्रम मात्रै थियो । समस्या बढ्दै गएपछि बुवाआमाले स्वास्थ्य चौकीमा लगे ।

बर्दिवासमा त्यसबेला गाडी चल्दैनथ्यो । दुई घन्टाको बाटो हिँडेर उनलाई स्वास्थ्य चौकीमा लगिन्थ्यो । एकपटकमा पाँचवटासम्म इन्जेक्सन दिइन्थ्यो । त्यो उपचारले एक-दुई वर्ष त काम गर्‍यो । ७-८ वर्ष भएपछि फेरि समस्या बल्झियो । किनकी रोग नै पत्ता लागेको थिएन ।

बारम्बार बिरामी भइरहन्थिन् राधा । विद्यालयमा अरु साथीहरुजस्तो उछलकुद गर्न सक्दिन थिइन् । सामान्य हिँडडुल गर्दा पनि थाकेर स्यास्या हुन्थ्यो । बुवाले उनलाई उपचारका लागि काठमाडौंको कान्ति बाल अस्पतालमा ल्याए । १८ दिनसम्म अस्पतालमा भर्ना गरेर उपचार गरियो । केही समय सञ्चो भयो । तर, फेरि उस्तै । १० वर्षको उमेरमा भारतको दरभंगा पनि पुर्याइयो । र, पनि रोगको निदान भएन ।

२०६१ सालमा काठमाडौंको बाँसबारीमा गंगालाल हृदयरोग केन्द्र भर्खरै खुलेको थियो । कतै मुटुरोग पो हो कि भनेर एकपटक त्यहाँ देखाउन बुवाआमालाई केहीले सुझाव दिए । अन्तिम विकल्पका रुपमा उनलाई गंगालाल लगियो ।

उनलाई काठमाडौंमै बस्ने दिदीभिनाजुले गंगागाल पुर्याएका थिए । तर, त्यहाँ जाँच गर्नासाथ डा. दिवाकार शर्माले आत्तिने खालको सूचना दिए । राधाको मुटुको दुईवटा भल्बमा प्वाल परेको भन्दै तुरुन्तै अपरेसन नगरे जे पनि हुन सक्ने खतरा उनले औंल्याए । शल्यक्रियाका लागि एक हप्ताभित्र १० लाख रुपैयाँ ठीक पार्न अस्पतालले उनको बुवालाई भन्यो ।

यो कुरा राधाको कानमा पनि पर्यो । उनी छाँगाबाट खसेझैं भइन् । त्यसबेला १२ वर्षकी थिइन् उनी । अलिअलि बुझ्ने भइसकेकी थिइन् ।

शल्यक्रिया सफल हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी थिएन । डाक्टरले बाँच्ने सम्भावना कम रहेको बताएका थिए । अर्कोतर्फ सामान्य आर्थिक स्थिति भएको परिवारले तत्काल १० लाख जुटाउन त्यति सहज पनि थिएन ।

राधाले मृत्युलाई नजिकै देख्न थालिन् ।

‘डाक्टरको कुरा सुनेपछि मैले बाँच्ने आशा लगभग मार्दै गएको थिएँ, मृत्युको कालो छायाँले मलाई निरन्तर पछ्याइरहेझैं लाग्थ्यो,’ भावुक बन्दै राधाले बताइन् ।

तर, आफ्नो मनभित्रको निराशा र हताशालाई उनले बाहिर प्रकट गरिनन् । बुवाआमाको अगाडि कहिले पनि आँशु झारिनन् ।

‘बरु मलाई ठीक हुन्छ चिन्ता नलिनु भनेर सम्झाउँथे,’ उनी भन्छिन्, ‘अनि एकान्तमा रुन्थेँ ।’

राधाका बुवाआमाले अहिलेसम्म उनको उपचारमा धेरै पैसा खर्च गरिसकेका थिए । अब एकैचोटि १० लाख रुपैयाँ जुटाउनुपर्ने चुनौति आइलाग्यो । सामान्य खेतिकिसानी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि यो सानो रकम थिएन । परिवारसँग अलिअलि जग्गाजमिन थियो, तर चाहेको बेला विक्री हुन्थेन ।

राधाका बुवाआमाले छोरीको ज्यान जोगाउन इष्टमित्र, साथीभाइ सबैसँग हारगुहार गरे । सबैले सहयोग पनि गरे । जेजसरी भए पनि शल्यक्रियाका लागि पैसाको जोहो भयो ।

गंगालालमा राधाको ओपन हार्ट सर्जरी गरियो । सर्जरी सफल भयो । उनले नयाँ जीवन पाइन् । अनुहारमा मुस्कान फर्कियो । मुर्झाएका सपनाहरु पुनः जागृत भए । उनको श्वामश्वेत जिन्दगी अब रंगीन हुने भयो । एक झोला औषधि साथमा लिएर उनी अस्पतालबाट विदा भइन् ।

त्यसयता राधाको स्वास्थ्य सामान्य छ । अहिले कुनै समस्या नरहेको उनी बताउँछिन् । यद्यपि, बेलाबखत उनलाई विगतको पीडादायी स्मृतिले झस्काइरहन्छ ।

०००

बुवाआमाले आफूलाई बचाउनका लागि गरेको संघर्ष, अनि आर्थिक समस्यालाई सानै उमेरदेखि राधाले नजिकबाट नियालिन् । स्वास्थ्य र पैसाको महत्व उनलाई कसैले बुझाइरहन परेन । त्यसैले जब स्वस्थ भइन्, पैसा कमाएर आफ्नो खुट्टामा उभिने र बुवाआमाको बोझ कम गर्ने कुरा नै उनको पहिलो प्राथमिकता बन्यो ।

राधाका आफन्तहरु धेरैले सेयरमा लगानी गरेका थिए । उनीहरु खुब सेयरका गफ गर्थे । ती कुराकानी सुन्दा राधालाई पनि चाख लाग्थ्यो । रहरै रहरमा उनले २०६५ सालमा पहिलोपटक सेञ्चुरी बैंकको सेयरमा २० हजार रुपैयाँ लगानी गरिन्् । यो उनी स्कुल पढ्दाखेरिकै कुरा हो । त्यसबेला ४० कित्ता सेयर परेको उनलाई याद छ । त्यसपछि त खुलेजति सबै आइपीओ भर्दै गइन् । सेयरको रस पस्दै गयो उनमा ।

त्यसबेला अनलाइनबाट कारोवार गर्ने सुविधा थिएन । आइपीओ भर्न घन्टौं लामो लाइन बस्नुपर्थो । जति दुख भए पनि उनलाई सेयर बजारमा खुट्टा टेक्नै थियो । उनले ५-६ घन्टासम्म लाइन बसेर सेयर भरेकी छन् ।

एसएलसीपछि उनी पद्मकन्या क्याम्पस समाजशास्त्र पढ्न थालिन् । स्नातकमा अध्ययन गर्दैगर्दा उनलाई एउटा सहकारीबाट जागीरको अफर आयो । उनकै आफन्तहरुको समेत संलग्नतामा खुलेको सहकारीबाट निर्देशक पदमा प्रस्ताव आएपछि उनले धेरै सोचिनन् । काम सुरु गरिन् ।

पहिलो जागीरमै मासिक तलव ३५ हजार थियो उनको । पहिलो महिनाको तलव उनले सेयरमै खन्याइन् । त्यहीँबाट उनको दोस्रो बजारमा इन्ट्री भएको थियो ।

उनले लगानी थप्दै गइन् । त्यसले फल दिँदै गयो । जति प्रतिफल आउँथ्यो, त्यो पनि सेयरमै लगानी गर्थिन् । कहिले घाटा पनि हुन्थ्यो कहिले नाफा । बजार बुझ्दै गइन् । सेयर बजारको अंकगणित मात्र होइन, विजगणितमा पनि पोख्त भइन् । आमा, बुवा, दाइ, दिदीहरुका नाममा पनि सेयर भर्न थालिन् । उनलाई सेयरको नशा नै लाग्यो ।

यसरी सेयर कारोवारमा अभ्यस्त भएपछि राधालाई सहकारीको जागिरमा मज्जा लाग्न छाड्यो । उनको ध्याउन्न सबै सेयरतिर हुन्थ्यो । यता एक दिनमै लाख-लाखको हिसाबकिताब हुँदा ३५ हजारको जागिरले उनलाई भुल्याउन सकेन । र, जागिर छोड्ने निधो गरिन् । अनि, पूर्णकालीन सेयर लगानीकर्ता बनेर दोस्रो बजारमा केन्द्रित बनिन् ।

०००

राधाले सेयर बजारबाट बुझेकी छन् पैसाले पैसा नै बनाउँदो रहेछ । उनी दोस्रो बजारमा प्रवेश गर्दा नेप्से उकालो यात्रामा थियो । त्यस समयमा उनले निकै आर्जन गरिन् । हजारको लगानी लाखमा पुग्न समय लाग्दैनथ्यो । त्यहीबेला गरेको आम्दानीलाई उनलाई लामो समय बजारमा अडिनका लागि आधार खडा गर्यो ।

‘बजारमा सँधै नाफा नै हुन्छ भन्ने छैन, गुम्ने खतरा पनि त्यत्तिकै हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले बजारमा टिक्नका लागि पैसा र धैर्य दुवै चाहिन्छ ।’

केही समय अगाडिको कुरा गर्ने हो भने चार वर्षसम्म सेयर बजार ओरालो लाग्यो । लगाकीकर्ताले अर्बौं रुपैयाँ गुमाए । राधालाई पनि ठूलै धक्का लाग्यो । तर, उनले बुझेकी छन्, सेयर बजारको उतारचढाव । त्यसैले हरेश खाइनन् । आखिरमा सेयर फेरि उकालो चढ्यो । नेप्से किर्तिमानी अंकमा पुग्यो । पछिल्लो समयमा बजार फेरि अस्थिर बनेको छ । यस्तो भइ नै रहन्छ ।

३५ हजार रुपैयाँ हालेर दोस्रो बजारमा प्रवेश गरेकी राधा अहिले करोडौंमा खेल्ने भएकी छन् । उनको पोर्टफोलियो एक करोडभन्दा माथि छ । सेयर बजारबाहेक उनी अरु कुनै पेशामा छैनन् । जताबाट आउने पैसा पनि सेयरमा नै लगाउँछिन् । बजारको सम्भावना हेरेर ऋण लिएर लगानी गर्न पनि पछि पर्दिनन् ।

राधा जतिबेला सेकेन्डरी मार्केटमा प्रवेश गरिन्, त्यसबेला सेयरबजारमा महिला लगानीकर्ताहरु न्यून थिए । उनी सुरु-सुरुमा ब्रोकर अफिस धाउँदा धेरैले उनलाई घुरेर हेर्थे । पुरुषहरुको भिडमा एक्लै पर्दा उनी आफैंलाई पनि कहिलेकाहीँ अप्ठेरो महसुस हुन्थ्यो ।

तर, बिस्तारै बजारमा महिला लगानीकर्ताको संख्या बढ्न थाल्यो । धेरै गृहणीहरु ब्रोकर अफिस धाउन थाले । अहिले त पुरुषकै हाराहारीमा महिला लगानीकताहरु देख्दा उनलाई बडो सन्तोष मिल्छ ।

त्यसो त आजकाल सेयर कारोवार गर्न ब्रोकर कार्यालयमा धाइरहनु पनि पर्दैन । अनलाइन प्रणालीले सबै कुरा सजिलो पारिदिएको छ । आइपीओ किन्न पनि पहिलेजस्तो लामो लाइन बस्नुपर्ने अवस्था छैन । आफ्नो मोबाइल फोनबाटै सबै काम फत्ते गर्न सकिन्छ । यसले सेयर लगानीकर्तालाई निकै सजिलो भएको उनको अनुभव छ ।

यद्यपि, सेयरबारे राम्रोसँग नबुझीकन हचुवामा लगानी गर्नेहरु धेरै देखेकी छिन् उनले । अरुको लहैलहैमा यसरी लगानी गर्दा धोका खानुपर्ने उनी बताउँछिन् ।

‘सेयर बजारमा प्रवेश गर्नेले पहिले नै धेरै कुराको जानकारी लिनु आवश्यक छ,’ उनी भन्छिन्, ‘कम्पनीको विश्लेषण नगरी सोसल मिडियाको भरमा सेयर किन्दा फँसिने धेरै नै सम्भावना हुन्छ । यसबाट जोगिनका लागि सही कम्पनी छान्न सक्नु पर्छ ।’

सेयर बजारमा अझै पनि धेरै नै समस्या देख्छिन् राधा । आज अनलाइन प्रणालीले लगानीकर्ताहरुलाई धेरै सहजता दिएको भए पनि यसमा पनि उत्तिकै समस्या रहेको उनको गुनासो छ ।

‘अहिले नयाँ प्रविधिसँगै आएको अनलाइनले पनि धेरै समस्या निम्त्याएको छ,’ उनी भन्छिन्, ‘जस्तो, हामीले बेचेको सेयर टीएमएसबाट तुरुन्त हट्नुपर्छ तर, हट्दैन । अनि लगानीकर्ता झुक्किन्छन् । ‘मेरो सेयर’ एप भनेका बेलामा खुल्दैन । आइपीओ भर्नलाई राती १२ वजेसम्म पर्खनु पर्ने वाध्यता पनि छ ।’

पूर्वअर्थमन्त्री युवराज खतिवडा हुँदा बजारका समस्या समाधानका लागि आयोग गठन गरेका थिए । राधा पनि त्यसमा सदस्य थिइन् । आयोगमा लगानीकर्ताले बजारमा यो–यो समस्या छन् भनेर ५८ ओटा समस्याका बुँदा टिपोट गरेका थिए । ती बुँदामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरेर समस्या समाधान गर्न सुझाइएको थियो ।

तर, सबै समस्याको समाधान अझै भएको नभएको उनी बताउँछिन् । ‘नियामक निकाय धितोपत्र बोर्डले अझै समस्या समाधान गरेको छैन,’ उनले भनिन्, ‘बोर्डले लगानीकर्ताको माग सम्वोधन गर्नेभन्दा आफूखुसी काम गर्ने गरेको छ ।’

०००

सेयर लगानीकर्ताहरुको संगठन नेपाल पूँजिबजार लगानीकर्ता संघकी अध्यक्ष छिन् राधा । उनी चार वर्षअघि यो पदमा निर्वाचित भएकी हुन् ।

अहिले राधा आफ्नो कारोवार सबै आफैं हेर्न पनि भ्याउँदिनन् । आफ्नो सेयर खरिदविक्रीका कामहरु सहयोगीहरुले गर्ने गरेको उनी बताउँछिन् ।

‘कुनै मेजर डिसिजन लिनुपर्यो भने आफैं गर्छु, नत्र अरु सहयोगीले हेर्नुहुन्छ,’ उनले भनिन् ।

राधा अविवाहित छिन् । उनलाई धेरैको प्रश्न हुन्छ विवाह कहिले गर्ने ? उत्तर उनी स्वयम्लाई थाहा छैन । जन्म, मृत्यु र विवाह माथिबाटै तय भएर आएका हुन्छन् भन्ने भनाइमा विश्वास गर्छिन् उनी ।


प्रतिक्रिया

2 thoughts on “‘सेयर सुन्दरी’ का अन्तरकुन्तर

  1. अन्य कुराको थाह भएन भौतिक सुन्दरताको वखान अलि धेरै भयो ।

  2. केही सेयर सुन्दरी हैन । यिनको अन्तर्वार्ता हेर्यो भने सेयर ग्यान कति छ भन्ने था हुन्छ । २/४ जना ठालुको नजिक भएर खाएको पदले ग्यान दिदैन फुर्ती नझारे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर