गुएनामा सेनाद्वारा कू : राष्ट्रपति हिरासतमा, संविधान भंगको घोषणा – Nepal Press

गुएनामा सेनाद्वारा कू : राष्ट्रपति हिरासतमा, संविधान भंगको घोषणा

सत्ता हत्याइएको घटनाप्रति राष्ट्रसंघद्वारा निन्दा

पश्चिम अफ्रिकी मुलुक गुएनाको सेनाले राष्ट्रपतिलाई गिरफ्तार गर्दै मुलुकको सत्ता आफ्नो हातमा नियन्त्रणमा लिएको घोषणा गरेको छ । सेनाका प्रमुखले संविधान भंग भएको घोषणा गर्दै अब सेनाले शासन गर्ने जनाएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमले यसलाई सैनिक कूको संज्ञा दिएका छन् । ‘हामी कुनै एक मान्छले गरेको शासनमा अब विश्वास गर्दैनौं । हामी जनतामा विश्वास गर्छौं । हामी देशको रक्षा गर्न आएका हौं जुन सिपाहीको दायित्व पनि हो’ गुएनाका सैनिक अधिकारी मामाडी डोम्बोयाले भिडिओ सन्देश जारी गर्दै भनेका छन् ।

राष्ट्रपति अल्फा कोन्डेका सल्लाहकारले सैनिकले सत्ता कू गरेको र राष्ट्रपतिलाई हिरासतमा लिइएको जनाएका छन् । तर, गतवर्ष चुनाव जितेका ८३ वर्षिय राष्ट्रपतिलाई पक्राउ गरि राखिएको स्थानबारे भने केही खुलाइएको छैन ।

सैनिक पोशाकमा भिडिओमा देखिएका डोम्बोयाले राष्ट्रपति कोन्डेलाई पक्राउ गरिएको र संविधान, सरकार र अन्य संस्थालाई भंग गरिएको जनाएका छन् । साथै, सबै सीमा र जमिनबाट हुने आवागमनमा पनि रोक लगाइएको छ ।

सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले गुएनाको राजनीतिक सत्ता हत्याएको घटनाको निन्दा गरेका छन् । गुएनामा भएको राजनीतिक ‘कु’ को महासचिव गुटर्रेसले कडा शब्दमा निन्दा गरेको महासचिवका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् ।

गुएनामा राष्ट्रिय सुरक्षा फौजको प्रयोग गरेर गरिएको शक्ति हत्याको निन्दा गर्दै महासचिव गुटर्रेसले त्यहाँका राष्ट्रपतिलाई तुरुन्त रिहा गर्न पनि माग गरेका छन् । महासचिव गुटर्रेसले आइतबार ट्वीट गरेर भनेका छन्, ‘गुएनामा सुरक्षा फौजका माध्यमबाट जबर्जस्ती सत्ता हत्याइएको छ, यस घटनाको म निन्दा गर्दछु र राष्ट्रपतिको तुरुन्त रिहाइको माग पनि गर्दछु । उनले बन्दुकका माध्यमबाट हात पारिएको सत्ता र शक्ति वैधानिक नभएको पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *