पोखरामा असोज १ गतेदेखि सर्तसहित फिल्म हल खोलिने, तर हल संचालक छैनन् खुशि – Nepal Press

पोखरामा असोज १ गतेदेखि सर्तसहित फिल्म हल खोलिने, तर हल संचालक छैनन् खुशि

पोखरा । कोभिड-१९ को संक्रमणदर र मृत्युदर घटेको बताउँदै जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १ गतेदेखि सर्तसहित फिल्म हल खुलाउने जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भदौ ३१ गते बस्ने डीसीसीएमसीको बैठकले यस्तो निर्णय गर्ने बताए ।

‘संक्रमण र मृत्युदर घटेकाले हामीले सर्तसहित फिल्म हल खुलाउनेबारे छलफल गरिरहेका छौं । यसबारे ३१ गते बस्ने बैठकले निर्णय गर्नेछ’ सीडीओ गौतमले भने, ‘आर्थिक क्षेत्र चलायमान बनाउने पनि हाम्रो उद्देश्य छ ।’ फिल्म हलसँगै दोहोरी साँझ र क्लबहरु खुलाउने पनि कास्की प्रशासनको तयारी छ ।

काठमाडौं उपत्यकापछि पोखरा नेपाली फिल्मको दोस्रो ठूलो बजार हो । चलचित्र संघको आइतबारको बैठकले कास्की डीसीसीएमसीलाई फिल्म हल खुलाउनेबारे आग्रह गर्ने निर्णय गरेको थियो । तर, चलचित्र संघले भने देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सीको माग पुरा नभएसम्म हलहरु नखोल्ने जनाएको छ । काठमाडौं उपत्यकामा भने गतसाता नै फिल्म हलहरु सर्तसहित खुलाउन अनुमति दिइएको छ ।

प्रशासनले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउने तयारी गरेपछि हल व्यवसायीले भने असन्तुष्टि व्यक्त गरेका छन् । मिडटाउन ग्यालरी फिल्म हलका निकेश द्धाले प्रशासनको निर्णयले व्यवसायीलाई फाइदा नहुने बताए । ‘शतप्रतिशत ओपनिङ नहुँदासम्म फिल्म हल खुलाउनुको अर्थ हुँदैन’ द्धाले नेपाल प्रेसलाई भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर