फिल्म हल तत्काल नखोल्ने चलचित्र संघको निर्णय, देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सीको माग – Nepal Press

फिल्म हल तत्काल नखोल्ने चलचित्र संघको निर्णय, देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सीको माग

दशैं रिलिजबारे अन्यौल सिर्जना

काठमाडौं । नेपाल चलचित्र संघले तत्काल फिल्म हलहरु नखोल्ने निर्णय गरेको छ । मुलुकभर हल खोल्ने र शतप्रतिशत अकुपेन्सीमा संचालनको अनुमति नपाएसम्म फिल्म हल नखोल्ने निर्णय भएको संघले जनाएको छ ।

संघका महासचिव अशोक शर्माले काठमाडौं उपत्यकामा मात्र हल खोल्ने अनुमति दिनु अव्यवहारिक भएको बताए । ‘जबसम्म देशव्यापी र शतप्रतिशत अकुपेन्सीको अनुमति पाइँदैन, तबसम्म हल खोल्ने कुरा हुँदैन’ संघको बैठकपछि शर्माले भने ।

एकैदिन देशव्यापी फिल्म रिलिजको अभ्यास रहेको बताउँदै उनले कुनै जिल्लामा अनुमति दिने र कुनै जिल्लामा नदिनु फिल्म व्यापारको प्रकृति विपरित रहेको बताए । ‘देशव्यापी हल खुलाउने बारे हामीले चलचित्र विकास बोर्ड र सीसीएमसीसँग पनि छलफल गर्नेछौं’ शर्माले नेपाल प्रेसलाई भने ।

चलचित्र संघका पूर्वअध्यक्ष तथा क्यूएफएक्स निर्देशक नकिम उद्दिनले पनि फिल्म रिलिजको लाइनअप तयार नभएकाले पनि तत्काल हल खोल्ने सम्भावना नरहेको बताए । चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले देशव्यापी हल खोल्नुपर्ने मागमा संघ अडिग रहेको बताए ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्थानीय तहमा फिल्म हल खुलाउने र नखुलाउने निर्णय गर्ने जिम्मा जिल्ला प्रशासनहरुलाई दिइएको बताए । ‘हामीले स्मार्ट लकडाउनको कार्यविधिअनुसार हल खुलाउन अनुमति दिएका हौं’ प्रवक्ता खतिवडाले भने, ‘उहाँहरुले खुलाउन सक्नुहुन्न भने यो उहाँहरुको कुरा भयो ।’

चलचित्र संघका अध्यक्ष प्रधानले अझै तीन साता फिल्म हल नखुल्ने बताएपनि महासचिव शर्माले आफूहरुको बटमलाइन देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सी मुख्य रहेको बताए । चलचित्र संघको यो निर्णयपछि दशैंमा फिल्म हल खुलाउने वा नखुलाउनेबारे अन्यौल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *