बालगृहमा बस्दै आएकी बालिका गर्भवती, बलात्कार आरोपमा वडाध्यक्षका छोराविरुद्ध उजुरी – Nepal Press

बालगृहमा बस्दै आएकी बालिका गर्भवती, बलात्कार आरोपमा वडाध्यक्षका छोराविरुद्ध उजुरी

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १० का वडाअध्यक्ष गंगाराम चनाराका छोरा कुश्माखर चनाराले बलात्कार गरेको भन्दै १५ वर्षीया बालिकाले प्रहरीमा उजुरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार बालगृहमा बस्दै आएकी बालिकाले आइतबार प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीमा बालिकाले कुश्माखरका बुवा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको पनि उल्लेख गरेकी छन् ।

प्रहरीले जाहेरी लिएसँगै कुश्माखरको खोजी भएको जनाएको छ । बालिकाको पेटमा आठ–दश हप्ताको बच्चा हुर्किरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

उनको निवेदनमा आफूलाई दुइ वर्षदेखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ–दश हप्ताको गर्भ रहेकोसमेत उल्लेख गरेकी छिन् ।

अर्थमन्त्री जनार्दन शर्माले ३ वर्ष पहिले अभिभावकत्व लिएर ती बालिकालाई सिस्ने हिमाल बालगृहमा भर्ना गरेका थिए ।

बालिकाले दिएको जाहेरी अनुसार २०७७ साल चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सन्चालिका सुनिताले आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन् । वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी हाल्ने र ब्रोइलर कुखुरापालनको काममा चारो हाल्न नियमित लगाएको उल्लेख छ ।

‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा (रवि)ले पछाडिबाट आएर मुख थुनी जबरजस्ती करणी गरेर कहीं कतै भनेमा मारिदिने धम्की दिएको हो’, उनले जाहेरीमा लेखेकी छन्, ‘२०७७ सालको लकडाउनदेखि २०७८ को लकडाउनसम्म पटक पटक बलात्कार गरेको र अहिले महिनावारीसमेत रोकिएको भन्दै ती बालिकाले गर्भ रहेको जनाएकी छन् ।’

उनले नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा भदौ १९ गते आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा बालिका गर्भवती रहेको देखिएको हो । उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रिपोर्टले देखाएको छ ।

पीडित बालिकाले भदौ १७ गतेका दिन आफू कोठामा पढिरहेको बेला वडा अध्यक्ष गंगाराम चनाराले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै ती बालिकाले बलात्कार गर्ने रवि, वडा अध्यक्ष गंगाराम चनारा र बालगृहको सञ्चालिका सुनितामाथि हदैसम्मको कारबाहीको माग गरेर जाहेरी दिएकी छन् ।

२०७४ सालमा बालगृहमा पढ्न भनेर बसकी ती बालिका कक्षा ३ मा भर्ना भएकी थिइन् । उनीसहित गृहमा बसिरहेका १२ जना अभिभावकविहीन बालबालिकालाई २०७६ सालमा जनार्दन शर्माले अभिभावक बनेर बिद्यालय भर्ना गरेका थिए ।
वडा अध्यक्षले बनाएको ओखर फार्मका लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदानसमेत दिएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर