चार घण्टामा १ सय ५ मिलिमिटर वर्षा, उपत्यकाका सबै नदी र खोलामा बाढी – Nepal Press

चार घण्टामा १ सय ५ मिलिमिटर वर्षा, उपत्यकाका सबै नदी र खोलामा बाढी

तीजमा घाम लाग्ने

काठमाडौं । वंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको मिश्रण हुँदा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यरातदेखि भारी वर्षा भइरहेको छ । जसका कारण यो क्षेत्रका सबै साना ठूला खोला तथा नदीहरुमा बाढी आइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनप्रसाद अर्यालले दिएको जानकारीअनुसार राती २ बजेदेखि मेघ गर्जनसहित भएको भारी वर्षा अझै रोकिएको छैन । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

‘हामीले हिजै वागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेका थियौं । राती २ बजेदेखि काठमाडौं आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ,’ उनले नेपाल प्रेससँग भने, ‘एयरपोर्ट वर्षा मापन केन्द्रमा रातीदेखि अहिले ७ बजेसम्म १ सय ५ मिलिलिटर वर्षा भएको छ । बुढानीलकण्ठ, भक्तपुर, बबरमहल केन्द्रमा पनि १ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।’

अघिल्लो साता झरीपछि चार दिनदेखि मौसममा सुधार भएको थियो । चर्को घामका कारण स्थानीय वायु सक्रिय भएको र बंगालको खाडीबाट उत्तर पश्चिम क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण नेपालतर्फ आएको जलवास्पयुक्त हावाका कारण वागमती प्रदेशका क्षेत्रहरुमा भारी वर्षा भएको अर्यालले जानकारी दिए ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाको वागमती, विष्णुमती लगायतका ठूला नदीहरुमा भीषण बाढी आएको छ । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ । काभ्रेको मुख्य बजार बनेपाल पूर्ण रुपमा जलमग्न बनेको छ ।

प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सजग रहन भनेको छ ।

तीजमा घाम लाग्ने

नेपाली हिन्दू नारीहरुको महान चाड तीन नजिकिँदो छ । दुई दिनअघिको यो भीषण वर्षापछि मानिसहरुले यसवर्ष हिले तीज हुने चिन्ता गर्न थालेका छन् ।

मौसमविद् अर्यालले तीजमा मौसम सुधार भइसक्ने अनुमान गरेका छन् । ‘आज र भोलि दिउँसोसम्म वर्षा हुनेछ । भोलि रातीदेखि मौसममा सुधार आउनेछ ।’

यसवर्ष तीज विहीबार परेको छ । मौसमविद् अर्यालले बुधबारदेखि नै मौसममा सुधार आउने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर