क्वारेन्टाइन नियम पालना नगरेपछि ब्राजिल र अर्जेन्टिनाको खेल बीचैमा रोकियो – Nepal Press

क्वारेन्टाइन नियम पालना नगरेपछि ब्राजिल र अर्जेन्टिनाको खेल बीचैमा रोकियो

एजेन्सी । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि दक्षिण अमेरिकी छनोटअन्तर्गत चीरपरिचित प्रतिस्पर्धी ब्राजिल र अर्जेन्टिनाबीचको खेल केहिबेर खेलिए पनि स्थगित गरिएको छ ।

आइतबार राती खेल सुरु भएको केहि मिनेटमै सादा पोशाकका प्रहरी र स्वास्थ्य कर्मचारी मैदान प्रवेश गरेर खेल रोकेका हुन् । अर्जेन्टिनाका तीन खेलाडीले कोरोना नियन्त्रणका लागि ब्राजिल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगरेको उनीहरुको तर्क थियो ।

साओ पाओलोमा चलिरहेको खेलका बेला नै प्रहरी र स्वास्थ्य अधिकारीले खेल रोकेका हुन् । स्वास्थ्य अधिकारीका अनुसार इंग्ल्याण्डमा खेल्ने खेलाडीले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भए पनि उनीहरुले त्यो नगरेको दाबी गरेका छन् । जसमा इमिलियानो बुइन्डिया, इमिलियानो मार्टिनेज, गियोभानी सिल्सो र क्रिस्टियन रोमेरो रहेको बताइएको छ ।

मार्टिनेज, सेल्सो र रोमेरोले अर्जेन्टिनाको सुरुवाती ११ बाट नै खेलेका थिए । खेल रोकिएको करिव एक घण्टापछि दक्षिण अमेरीकी फुटबल महासंघले खेल स्थगित भएको आधिकारिक जानकारी दिएको छ।

खेलका रेफ्री र म्याच कमिस्नरले फिफाको अनुशासन कमिटीलाई रिपोर्ट पेश गर्नेछन् ।

ब्राजिलको नियम अनुसार बेलायतबाट आउने नागरिकले अनिवार्य १४ दिनको क्वारेन्टिन बस्नुपर्ने भनिएको छ । तर प्रिमियर लिग खेल्ने ती खेलाडी १४ दिन क्वारेन्टिन नबसेर नै यो खेलका लागि आएको स्वास्थ्यकर्मीले बताएका थिए ।

यो विषयमा फिफाले पनि अनुसन्धान गर्ने बताइएको छ । फिफाले रेफ्री र म्याच कमिस्नरको रिपोर्टका आधारमा अनुसन्धान गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *