मास्कबिना कीर्तिपुर प्रवेश निषेध (भिडियो) – Nepal Press

मास्कबिना कीर्तिपुर प्रवेश निषेध (भिडियो)

काठमाडौं । कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो ।

आइतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन जनचेतना जगाउनका लागि सो अभियान संचालनमा ल्याइएको स्पष्ट पारे ।

कीर्तिपुर नगरपालिकाले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले सो अभियान संचालनमा ल्याउनु परेको पनि स्पष्ट पारेको छ । त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ ।

सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिए । उनले भने,‘कीतिपुरको हकमा मास्कको सुनिश्चितता शुभारम्भ गरेका छौं । यसलाई निरन्तरता दिँदै हामीले यहाँका विभिन्न सार्वजनिक स्थलहरुमा, कार्यस्थलहरुमा ‘मास्कविना प्रवेश निषेध’ भन्ने अभियानको प्रारम्भ गरेका छौं ।’

नगरपालिका कार्यक्रममा बोल्दै उपमेयर सरस्वती खड्काले सो अभियानलाई साथ दिएर कोरोना संकटबाट बच्न सबै नागरिकहरुलाई अपिल गरे । उनले भीडभाडमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन भुल्न नहुने पनि स्पष्ट पारे ।

कार्यक्रममा युनिसेफ, लायन्स क्लव अफ काठमाडौं कीपूलगायतका सामाजिक संघसंस्थाहरुले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए । सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर