प्रकृतिसँग डराएर रात काट्न बाध्य मेलम्चीबासी – Nepal Press

प्रकृतिसँग डराएर रात काट्न बाध्य मेलम्चीबासी

बगिरहेको छ हेलम्बुको पहाड

सिन्धुपाल्चोक । चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुबासीको । यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरु ।

शनिबार भने दिनभर सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको मौसम सफा थियो । त्यसैले मेलम्ची खोलाका दायाँ-बायाँ किनारा चियाउन सकियो जहाँबाट बाढी र पहिराेलो छिया-छिया पारेका तटीय बस्ती र अलिक परका गाउँ स्पष्ट देखिन्थ्यो । माथिबाट चियाउँदा लाग्थ्यो खोला किनारबाट सयौँ मिटर माथिसम्म पहाड थिल्थिलो परेको छ ।

अहिले पनि अर्थात् बिना वर्षा नै पनि ठाउँ-ठाउँका पहाडबाट गेग्य्रान खसिरहेको छ । जङ्गलबीचका सेतो कमेरे माटोका धर्साहरु त्यही हेलम्बुको पहाड चुहिएर बनेका छन् । यसरी हेर्दा लाग्छ अहिले पनि बगिरहेको छ हेलम्बुको पहाड । अनि प्रकृतिले उत्पन्न गरेको त्रासमै बाँचिरहेका छन् यहाँका बासिन्दा ।

कतिपय स्थानमा चोइटिएका पहाडबाट सुक्खा पहिरो खस्दै थियो भने कतै खस्न ठिक्क परेका ढुङ्गा माटोका ढिक्का थिए । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनाराका बगर छेउछाउ कटान गर्ने क्रम पनि जारी नै थियो । हेलम्बुको माथिल्लो स्थानमा कलकल बगेको सङ्लो पानी तल्लो तहमा आइपुग्दा बाढीमा परिणत हुने क्रम अझै रोकिएको छैन ।

‘थोरै पानी पर्दा जुनसुकै बेला तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड १० प्रतिशत पनि खसेको छैन, अझै धेरै खस्न बाँकी छ, त्यसैले मेलम्ची र हेलम्बुवासी जोखिममै दिन काट्न बाध्य छन्’, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने । यसो बाहिरबाट हेर्दा नै मक्किएझैँ देखिएका पहाड खसेर बाढीको उदण्ड रुप देखाउन सक्ने जोखिम अझै छ । त्यसैले सानो पानी पर्दा नै तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातमा निद्रा लाग्दैन ।

माथिल्लो तहमा गेगर बग्ने क्रम नरोकिए पनि मेलम्ची बजारलगायत नदी आसपासमा पुरिएका घर खोतल्ने र पुरानै अवस्थामा फर्काउने प्रयास पनि भइरहेका थिए । मेलम्ची नगरपालिका–११ की मैया दुलालको घर पनि अन्य छिमेकीको झैँ दुई तला पुरिएको थियो । एक्जाभेटर लगाएपछि अहिले घरको भुइँतला फेला परेको छ । मजदुर लगाएर घर खोतल्दै गरेकी उनलाई पनि अझै मेलम्ची आउने डर हटेको छैन ।

कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । अनि कति घरको चार तलासम्म बगर भरिएको उनले सुनाइन् । त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँ-ठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापितहरु अस्थायी टहरामा बसिरहेका छन् । उनीहरु स्थायी बसोबासको माग गरिरहेका छन् ।

गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले त्यस्तै पीडा भोगिरहेको बस्ती हो हेलम्बु गाउँपालिका–२ को गणेशेबगर । नामको बगरलाई साँच्चिकै बगरमा परिणत भएपछि यहाँका ४५ परिवारका घर खेतमा खोला हिँडेको छ । केही घर खोलामा पल्टिएर बसेको छ । केही बगरभित्र पुरिएको छ केही घरको त निशाना नै नामेट छ । पीडित स्थानीयवासी भने त्यही भग्नावशेषमा हिँडेको खोलो टुलुटुलु हेरेर बसेका छन् । उनीहरुका पक्की घरबाट खोला हिँडेको छ तर उनीहरु भने केहीमाथि अस्थायी टहरामा बसिरहेका छन् ।

‘अब हामी कतिञ्जेल अस्थायी टहरामा बस्ने, हामीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिनुपर्‍यो’, आज गृहमन्त्री बालकृष्ण खाँणसामु बाढीपीडित राम तामाङले अनुनय गरे । उनले समूहमा मिलेर खाना खाने गरे पनि दैनिक जीवनयापनमा ठूलो समस्या परेको दुखेसो पोखे । गृहमन्त्री खाँणले अवश्यक व्यवस्थापनका लागि सरकार गम्भीर रहेको र छिट्टै निकास पाउने आश्वासन दिएर फर्केका छन् ।

उनले विपद् व्यवस्थापनमा लागेका सङ्घसंस्थालाई तत्काल गर्नुपर्ने कामका विषयमा योजना तयार पारेर काम गर्नसमेत निर्देशन दिएका छन् । सबैभन्दा पहिलो कुरा बाटो, पुल, राहत, उद्धार, गाँस र बासस्थानलगायत हो, त्यसलाई कसरी हुन्छ सम्भव गर्नुपर्‍यो, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेललाई गृहमन्त्री खाँणले भने ।

हवाई तथा स्थलगत निरीक्षण अध्ययनपछि गृहमन्त्री खाँणले त्यस क्षेत्रमा कमलो भूबनोटका कारण लेदो आएर तहसनहस पारेको बताउँदै तत्कालका लागि अत्यावश्यक ठाउँमा कजवे, झोलुङ्गे पुल बनाइहाल्नुपर्ने आवश्यकता औँल्याए ।

‘कतिपय ठाउँमा बस्ती बस्न नसक्ने छ, त्यहाँका मानिसलाई नयाँ घर नै बनाउनुपर्छ’, उनले भने, ‘सिन्धुपाल्चोकलाई बाढी पहिरो र भूकम्पले विपद् निम्त्याइरहनु दुःखद् छ ।’ दीर्घकालीन समाधानका लागि माथिदेखि नै चेकड्यामको आवश्यकता महसुस गर्नुभएका गृहमन्त्री खाँणले पुनःनिर्माण प्रारम्भ गर्न छुट्टै कार्ययोजनासहित काम गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर