नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने श्रीलंकाली राजदूतको प्रतिवद्धता – Nepal Press

नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने श्रीलंकाली राजदूतको प्रतिवद्धता

काठमाडौं । श्रीलंकाले नेपालमा पर्यटन प्रवर्द्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अघिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृति सम्बन्ध रहेको भन्दै त्यसलाई अव औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताएका छन् ।

परिसंघ कार्यालय थापाथलीमा भएको छलफलमा राजदूत अरुणतिलकाले नेपाली निर्यातकर्तालाई श्रीलंकामा सहज पहँच र बजारका लागि आफूले पहल गर्ने बताए । हामीले आर्थिक सम्बन्धलाई बलियो बनाउनुपर्नेछ,’ उनले भने ।

दुई देशबीच सिधा हवाई सेवा सुरु भएको भन्दै उनले आपसी सञ्जाल विस्तारमा थप सहयोग गर्ने उल्लेख गरे । ‘हामी दुई देशका निजी क्षेत्रलाई पनि निकट बनाउँदै एक आपसमा लगानी अभिवृद्धि र आर्थिक सम्बन्ध विस्तारमा जोड्न सक्छौँ,’ उनल भने ।

छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानीकर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको भन्दै श्रीलंकाली लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने बताए ।

‘नेपाल सिमेन्ट, जुत्ता चप्पलजस्ता क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थामा छ, यसबाहेक धेरै क्षेत्रमा हाम्रो सम्भावना छन्, त्यस्ता क्षेत्रमा श्रीलंकाली लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ ।’

छलफल कार्यक्रममा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले एसियाली देशहरूका निजी क्षेत्रका संस्थालाई जोड्ने उद्देश्यले परिसंघको अगुवाईमा युनियन अफ एसिएन चेम्बर्स गठन गरिएको बताए । यसमार्फत एसियाली देशहरूका निजी क्षेत्रका संगठनबीच एकता कायम गरी लगानी अभिवृद्धि र व्यापार सहजीकरणमा सहकार्य गर्ने उल्लेख गरे ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं महानिर्देशक यादवप्रसाद पौड्याल र श्रीलंकाली राजदूतावासकी काउन्सेलर निलुशा दिल्मिनीको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर