एमाले विधानको धारा-६५ ‘कम्फरटेबल’ नभएपछि वामदेवको बाध्यात्मक बहिर्गमन ! – Nepal Press

एमाले विधानको धारा-६५ ‘कम्फरटेबल’ नभएपछि वामदेवको बाध्यात्मक बहिर्गमन !

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मुखैमा उपाध्यक्ष पदबाट बामदेव गौतमले दिएको राजीनामाको कारण खोजी भइरहेको छ । गौतम एमाले छाडेर नेकपा एसमा समाहित पनि भइसकेका छैनन् ।

एमालेको दशौं महाधिवेशन मंसिरमा हुँदैछ । तर गौतमले नेकपा एसमा पनि जबज लगायतका बैचारिक विमति रहेकै बेला एमालेबाट राजिनामा दिनुको कारण भने अध्यक्ष केपी ओलीसँगको विमतिसँगै एमालेको विधानको धारा ६५ पनि रहेको निकट स्रोतले जनाएको छ ।

एमालेको विधानको धारा ६५ को उपधारा ३ मा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुनेछ भनिएको छ । असोज पहिलो साता हुने विधान महाधिवेशनका लागि प्रस्तावित मस्यौदामा यो धारा संशोधनको प्रस्ताव पनि गरिएको छैन ।

गौतमले विधानमाथि छलफल गर्ने उनी सहभागी अन्तिम स्थायी कमिटी बैठकमा आफ्नो फरक मतलाई कमिटीमा छलफलका लागि लैजान अध्यक्ष ओलीसँग माग गरेका थिए । उनले उमेर हद समेत हटाउने प्रस्ताव राखेका थिए । तर गौतमको माग सुनुवाई नभएपछि अब तपाईसँग रहन्न भनेर उनी उठेका थिए ।

ओलीले आफूलाई कम्फरटेबल हुन्जेल विधान संशोधन नगर्ने देखिएपछि गौतमले एमाले छाडेको उनी निकटहरु बताउछन् । एमालेमै बस्दा पनि मंसिरपछि कार्यकारी कमिटीमा बस्न नपाइने भएपछि उनका लागि यो एक प्रकारले अनिवार्य अवकाश वा बाध्यात्मक वहिर्गमन भएको छ ।

उनी निकट एक नेताले भने, ‘हामीले उहाँलाई छाडेर माधव नेपाललाई साथ दिइसकेका थियौं । एमालेले ओलीलाई ७० वर्षे प्रावधानले तत्काल नरोक्ने भएपछि वामदेवका लागिमात्र यो राख्न खोजियो । उहाँ त्यसै पनि मंसिरपछि एमालेको सल्लाहकार वा जेष्ठ कम्युनिस्ट मन्चको सदस्यको हैसियतमा पुग्ने भएपछि त्यो पार्टी छाड्नुभयो ।’

एमाले अध्यक्ष ओली अहिले ६९ वर्षका छन् । माघसम्म महाधिवेशन हुँदा उनलाई एकपटक फेरि अध्यक्षको उम्मेदवार बन्न अहिलेको विधानले रोक्दैन । त्यसैले ७० वर्षे उमेर हद हटाउने अलोकप्रिय प्रस्ताव उनले विधान महाधिवेशनमा लैजान चाहँदैनन् ।

पूर्व महान्यायाधिवक्ता रमेश बडाल भन्छन्, ‘एमालेको विधान अनुसार कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन ७० वर्ष नकटेको हुनुपर्छ । अध्यक्ष ओली ६९ वर्ष हुनुभएकाले उहाँलाई विधानले उम्मेदवार बन्न रोक्दैन तर बामदेवजी ७१ वर्ष पुगिसक्नु भएकाले उहाँ यो केन्द्रीय कमिटी रहँदासम्ममात्र कार्यकारी कमिटीमा रहन पाउनुहुन्छ ।’

एमालेबाट विभाजित नेकपा एसको अन्तरिम विधानमा उमेर हद राखिएको छैन । वामदेव स्वास्थ्य र सक्रियताका कारण पनि अझै ५ वर्ष कार्यकारी भूमिकामा रहन चाहन्छन् । एमालेको विधानले त्यो मौका नदिने र ओलीले आफ्नो कुनै पनि कुरा नसुन्ने भएपछि उनले कार्यकारी भूमिकामा सक्रिय रहनका लागि विकल्प खोजेका हुन् । उनी राष्ट्रियसभामा अझै चार वर्षका लागि सांसद छन् । गौतमले नेकपा एसमा सहअध्यक्ष मागेका छन् । उनलाई बरिष्ठ उपाध्यक्ष बनाउनेबारे छलफल भएको स्रोतले जनाएको छ ।

एमालेको विधान अनुसार नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा झलनाथ खनाल, बामदेव गौतम, मुकुन्द न्यौपाने, अमृत बोहोरा र महेन्द्रवहादुर पाण्डेले दशौं महाधिवेशनमा कार्यकारी पदमा उम्मेदवार बन्न पाउँदैनन् । तीमध्ये खनाल, न्यौपाने र गौतमले एमाले छाडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर