अर्घाखाँचीका ४ जना जनप्रतिनिधि नेकपा एसमा – Nepal Press

अर्घाखाँचीका ४ जना जनप्रतिनिधि नेकपा एसमा

रुपन्देही । अर्घाखाँची जिल्लामा एमालेबाट निर्वाचित एक गाउँपालिका उपाध्यक्षसहित ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

शुक्रबार पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ४ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गौतम अनेमसंघ अर्घाखाँचीकी उपाध्यक्ष हुन् । गौतमले आफूसहित ४ जनाले अहिलेसम्म समाजवादीमा सनाखत गरेको बताइन् ।

एमालेबाट समाजवादीमा जाने पाणिनी गाउँपालिका वडा नं. ३ का निर्वाचित वडा सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा न. १ कि निर्वाचित महिला सदस्य सुमित्रा मुखिया र मालारानी गाउँपालिका वडा नं ५ का सदस्य डोल बहादुर चौहान रहेका छन् ।

भुसाल नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन विभाग सदस्य तथा मुखिया नेकपा एमाले जिल्ला कमिटी सदस्य हुन् । एकीकृत समाजवादीका जिल्ला संयोजक रामबहादुर चौहानले अब केही दिनमा जिल्ला कमिटी घोषणा गर्ने तयारी रहेको बताए । ‘एमालेको समानान्तर कमिटीका सबैजना यता आएको अवस्था छ, ७० जनाको कमिटी थियो त्यसलाई थपेर जिल्ला कमिटी बनाउने तयारीमा छौं,’ उनले भने ।

माओवादी र नोपली कांग्रेसले सहकार्य गरेको स्थानीय चुनावमा ३ नगरपालिका र ३ गाउँपालिकामध्ये एमालेले मालारानीको अध्यक्ष तथा उपाध्यक्ष र पाणिनीको उपाध्यक्ष मात्र जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर