मिस नेपाल अमेरिकालाई ट्रेडमार्क – Nepal Press

मिस नेपाल अमेरिकालाई ट्रेडमार्क

ट्रेडमार्क पाउने नेपाली सौन्दर्य प्रतियोगितामा पहिलो

काठमाण्डौं । न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म आयोजना हुने मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ । अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र हुन सफल भएको हो । सन् २०१७ को अक्टोबरमा आवेदन दिइए पनि अहिलेमात्र मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।

सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्टमा व्यवसायिक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।

यस अगाडी मिस नेपाल युएसएका नाममा सन् २०११ मा ट्रेडमार्क लिन प्रयास गरिए पनि मिस युसएएले दाबी गरेका कारण उक्त प्रयास सफल हुन सकेको थिएन । तर पछि मिस युएसएले ए अक्षर हटाएर मिस नेपाल युएसमात्र कायम हुने गरी ट्रेडमार्कका लागि सहमति दिएको थियो । त्यसपछि सन् २०१२ को फ्रेब्रअरीमा मिस नेपाल युएसमात्र रहने गरी ट्रेडमार्क दर्ताको प्रयास भए पनि सफल हुन सकेन ।

सन् २०१७ को जुनमा मिस नेपाल युएबाट फुटेर गएको एउटा टिमले ड्रिम युनिभर्सल एलएलसीका तर्फबाट ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । तर सफल हुन सकेन । त्यसपछि उक्त टिमले सन् २०१८ मा मिस नेपाल नर्थ अमेरिकाका रुपमा ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । उक्त प्रयास पनि सफल हुन सकेन । मे ३१ मा मिस नेपाल नर्थ अमेरिकाका नाममा खारेजी पत्र जारी भएको थियो । त्यसपछि पनि सन् २०१९ र २०२१ मा मिस नेपाल नर्थ अमेरिका प्रतियोगिता भने गरिएको थियो ।

अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिताका लागि मिस नेपाल एलएलसीले मिस नेपाल युएसको ट्रेडमार्क प्राप्त गर्न सफल भएकोमा यसका संस्थापक अमित शाहले खुशी व्यक्त गरेका छन् । साथै १० बर्ष लामो आफ्नो प्रयास सफल भएको समेत उनले बताएका छन् ।

मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोहका साथ मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीले मिस नेपाल युएसको आधिकारिक वेबसाइट वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सक्नेछन् । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ सम्म रहेको छ ।

नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको छ ।

मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलालाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर बराबरको सहयोग प्रदान गरिसकेको छ । यो कार्यक्रमले महिलालाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको छ ।

मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहर बाट सुरु भएको थियो । जसमा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर