मुड्की बजार्दै देउवालाई भीम रावलको चुनौति : तिमी देशघातीको धम्कीलाई म कुल्चिदिन्छु (भिडिओ) – Nepal Press

मुड्की बजार्दै देउवालाई भीम रावलको चुनौति : तिमी देशघातीको धम्कीलाई म कुल्चिदिन्छु (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले देशमा राजनीतिक अस्थिरता भएको बेलामा अमेरिकी साहायता परियोजना (एमसीसी) अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै रावलले एमसीसी इष्ट इन्डीया कम्पनी भन्दा पनि खतरनाक भएको दावी गरे। ‘झिलिमिली हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्‍याइदैछ,’ रावलले भने, ‘नेपाललाई पराधिन, उपनिवेश बनाउन पाइँदैन भनेर आ-आफ्नो ठाउँबाट आवाज उठाउनुस् ।’

उनले थपे, ‘जसरी बेलायतीहरुले भारतमा इष्ट इन्डीया कम्पनी खोले त्यो इष्ट इन्डीया कम्पनी भन्दा खतरनाक छ, एमसीसी ।’ एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने रावलको दावी छ।

रेडियो र टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनको भनाइ छ। ‘रेडियोबाट, टेलिभिजनबाट एमसीसीको बारेमा विज्ञापन बजिरहेको छ,’ रावलले भने, ‘कुनै देशले दिने अनुदान सहयोगको बारेमा अर्को देशले झ्याली पिटेर विज्ञापन गर्छ कहीँ ? दुनियाँमा सुन्नुभा’छ ? यो भन्दा राष्ट्रको अपमान के हुनसक्छ ? भर्खरै एउटा टेलिभिजनबाट त्यो बजाएको रहेछ । धेरै विरोध गरेपछि त्यो बन्द भयो । तर रेडियोबाट बजाउने क्रम जारी छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सूचना जारी आरोप लगाउँदै उनले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती पनि दिए । रावलको भनाइ छ, ‘यो लोकतन्त्र हो की के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन, ५० दिन भैसक्यो लाजपनि मान्नुपर्ने। उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौता बारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरिनेछ ।’

आफूलाई पक्रन चुनौती दिँदै रावलले भने, ‘म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । मैले भने । मलाई गिरफ्तार गर । गृहमन्त्रालय आउ मलाई पक्रेर लग ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर