सिटामोल खाँदै ओलीको भाषण, सत्ता गठबन्धनदेखि वामदेवसम्मलाई प्रहार (भिडिओ) – Nepal Press

सिटामोल खाँदै ओलीको भाषण, सत्ता गठबन्धनदेखि वामदेवसम्मलाई प्रहार (भिडिओ)

माधव नेपाललाई ‘शरम पचेको’ भने, देउवा र प्रचण्डसँग एमसीसीबारे जवाफ मागे

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हिजो पार्टीले आयोजना गरेका तीनवटा कार्यक्रममा अनुपस्थिति जनाए । कारण उनी अस्वस्थ हुनु थियो । आफू जान नसकेका कार्यक्रममा ओलीले सुवास नेम्वाङ र प्रदीप ज्ञवालीलाई पठाएका थिए।

शनिबार पनि एमालेका कार्यक्रम थिए। ओली अस्वस्थ भएकाले केही दिन निवासमै आराम गर्ने र भेटघाट पनि बन्द गर्ने भनिएको थियो । तर, एमाले काठमाडौं महानगर कमिटीले गरेको भेलामा ओलीले आउन जिद्दि गरे । केही दिन आराम गर्नुपर्ने चिकित्सकको सुझावलाई पनि नमानी उनी कार्यक्रममा आए । स्रोतका अनुसार जसरी पनि जान्छु भन्दै ओलीले सिटामोल खाएर हिँडेका थिए।

ढिला गरि कार्यक्रममा आए। उनी आउँदा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्बोधन गर्दै थिए। ओली आएपछि विद्यासुन्दरले पनि आफ्नो सम्बोधन सकाए । र, लगत्तै ओलीले सम्बोधन शुरु गरे । तुलनात्मक रुपमा संक्षिप्त सम्बोधन गरे ।

सम्बोधन सकाउँदै गर्दा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि कार्यकर्तालाई जानकारी गराए। ‘अलिक थकित भएर ज्वरो नै आउने अवस्थामा पुगेँ,’ उनले भने, ‘एक दुई दिन थकाइ मार्नुपर्छ भन्ने डाक्टरको सल्लाह छ, त्यसकारण म विदा लिन्छु । र अहिलेलाई चाहिँ थकाइ मार्न हिँडे ।’

ओली आफैंले आफूलाई अलि सन्चो नभएको जानकारी गराएपनि उनको सम्बोधनमा भने अस्वस्थताको कुनै छनक देखिदैन्थ्यो । विपक्षीप्रति ओलीको आक्रमकता र जोसमा केही पनि कमी देखिदैन्थ्यो । आफ्नो सम्बोधनमा ओलीले मुलतः कार्यकर्तालाई हौस्याउन प्रयत्न गरे भने विपक्षीप्रति कडा प्रहार । सत्तारुढ गठबन्धन, हालै एमालेबाट विद्रोह गरेका माधव नेपाल र एमाले छाडेका वामदेव गौतमसम्मलाई प्रहार गरे।

चुनावमा गठबन्धनलाई चुनौती

ओलीले सत्तारुढ गठबन्धनको एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट नरहेको दाबी गरे । सबै मिलेर आए मात्रै जमानत जोगिने बताए। ‘एक्लाएक्लै आयौ भने जमानत जफत हुन्छ, त्यसैले म भन्छु एमालेसँग चुनाव लड्न एक्लै आउने आँट नगर्नू,’ ओलीले भने, ‘मिलेर आउनु, जमानत जोगिन्छ ।’

ओलीले एमालेले एक्लै चुनाव लड्न सक्ने र जित्न सक्ने समेत दाबी गरे। ‘यो पार्टीले एक्लै चुनाव लड्न सक्छ, एक्लै चुनाव जित्न सक्छ । गठबन्धन बनाएर झ्यालबाट मच्छर पसेजस्तो बस्ने बाटो पनि आउँदो चुनावबाट बन्द गरिदिन्छौं ।’

ओलीले हिजो चुनाव टिकट दिँदा आफूहरुले केही गलत मान्छेलाई दिएको समेत बताए । हिजो एमालेबाट चुनाव जितेर सांसद भएका केही व्यक्ति देउवाको दैलोमा खान पाइन्छ कि भनेर ढुकिरहेको आरोप ओलीले लगाए ।

‘चीनसँग सीमा विवाद भएको प्रमाण देखाउन चुनौती, एमसीसीबारे प्रष्ट पार्न आग्रह

पूर्व प्रधानमन्त्री समते रहेका ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दावी गरेका छन् । सरकारले चीनसँगको सीमा अध्ययन गर्न समिति बनाएका बेला ओलीको चुनौती थियो –‘चीनसँग सीमा विवाद छैन् । यो सरकारलाई चुनौती दिएर भन्न चाहान्छु, यो समितिले सीमा विवाद देखाओस् । कसलाई खुसी पार्न समिति बनाएको ?

अर्को विषय अमेरिकी सहायता परियोजना एमसीसीबारे पनि ओलीको टिप्पणी थियो । एमसीसी झुक्याएर पास गर्न लागेको समेत दावी गरे । ‘एमसीसीबारे बोल्दैनन्, भन्दैनन्,’ ओलीले भने, ‘झुक्याएर पास गर्न लागेका छन् । शेरबहादुर जीले भन्नु पर्दैन एमसीसी के गर्ने ? प्रचण्डले भन्नु पर्दैन एमसीसी के गर्ने ?’

माधव नेपालमाथि कडा घोचपेच

सम्बोधनका क्रममा ओलीले हालै छुट्टिएर गएका नेता माधव नेपालप्रति निकै घोचपेत र कटाक्ष गरे। प्रधानमन्त्री हाल्न दाम चढाएको देखि हुलकाबाट पत्रमन्जुसा गरेको भन्दै कटाक्ष गरे।

‘कहिले सामान्ती राजाको वरिपरि दाम चढार परिक्रमा गरेको छ,’ओलीले भने, ‘कहिले पत्र मन्जुसामा प्रधानमन्त्री हुन पाउ भन्ने निवेदन पनि पुर्याएको छ। मैले पार्टी चलाउन नसक्ने भएँ भनेर पार्टी छोडेर हिँडेको छ।’

माधव नेपालमाथि खोचपेच गर्न केही अराजनीतिक भाषाको पनि ओलीले साहारा लिए। उनले माधव नेपाललाई ‘शरम पचेको’ समेत भने। उनको भनाइ थियो– ‘नेपालमात्र होइन, विश्वका अरू धेरै देश पुगें, तर माधव नेपालजस्तो शरम पचेको कोही देखिनँ।’

वामदेवमाथि पनि प्रहार

ओलीले हिजो पार्टी परित्याग गरेका उपाध्यक्ष वामदेव गौतमप्रति पनि कटाक्ष गरे । उपप्रधानमन्त्री खानका लागि आफूलाई विरोध गर्दै हिँडेको उनले आरोप लगाए ।

गौतमले लेखेको राजीनामाको व्यहोरामाथि टिप्पणी गर्दै ओलीले भने, ‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो रु तपाई केपी शर्मा ओलीले खाली के जाती गरेँ, त्यसकारण तपाईंको पार्टी छोडेँ ।’

उपप्रधानमन्त्री हुन राजीनाको विषय एउटा भए पनि व्यहोरा अर्कै लेखेको ओलीको भनाइ छ। उनले भने, ‘उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने रु निवेदनमा एउटा कुरा र निवेदनको ब्यहोरा भने अर्कै छ।’ एउटालाई रिझाउन अर्कोलाई गाली गरिएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर