सांसद जोगाउन जसपा प्रदेश २ को संसदीय दल बैठक बस्दै – Nepal Press

सांसद जोगाउन जसपा प्रदेश २ को संसदीय दल बैठक बस्दै

जनकपुरधाम । दल विभाजन भएपछि सांसद तानातान भइरहेको बेला जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ संसदीय दलको बैठक बस्दैछ । जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरको वेलकम होटलमा प्रदेश २ संसदीय दलको बैठक बसेको हो । विहान ११ बजे बस्ने भनिएको बैठक झण्डै २ घण्टा ढिलो सुरु भएको छ ।

आफ्ना सांसदहरु लोकतान्त्रिक समाजवादी पार्टीको सम्पर्कमा नजाओस् भनेर उनीहरुलाई रोक्न संसदीय दलको बैठक बसेको स्रोतले जनायो । सांसद फकाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, बरिष्ट नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुरमा चार दिनदेखि डेरा जमाएका छन् । तर, उनीहरुको योजना सफल हुन नदिन उपेन्द्र यादव पनि बिहीवारबाटै जनकपुरमा छन् ।

जसपा सांसद एवं कृषि राज्यमन्त्री योगेन्द्रराय यादवले समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बताए । उनले भने, ‘हरेक महिनामा बैठक बस्छौं । यो पनि नियमित बैठक हो । अन्य कुनै कारण छैन ।’

तत्कालिन राजपा र समाजवादी पार्टी मिलेर बनेको जसपाका ५४ सांसदमध्ये १२ जनाले लोसपाको पक्षमा अहिलेसम्म सनाखत गरेका छन् । महन्थ पक्षका तीन साँसद जितेन्द्र सोनल, अभिराम शर्मा र उपेन्द्र महतो सनाखत गर्न बाँकी छन् । यस बाहेक करिब ७ जना साँसद तान्ने लोसपाको दावी छ ।

उपेन्द्र यादवले लोसपा १५ सांसदमै सीमित रहने बताउँछन् । तर ठाकुर-महतो तत्कालिन राजपाबाट निर्वाचित सांसदहरुलाई कुनै पनि हालतमा लोसपामा सनाखत गराउने कसरत गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर