चुनाब निश्पक्ष हुने आधार माग्दै परराष्ट्रले लेख्यो एनआरएनलाई पत्र, पाँचदिनभित्र जवाफ दिन निर्देशन – Nepal Press

चुनाब निश्पक्ष हुने आधार माग्दै परराष्ट्रले लेख्यो एनआरएनलाई पत्र, पाँचदिनभित्र जवाफ दिन निर्देशन

काठमाडौं । गैरआवासीय नेपाली संघको चुनाबको निश्पक्षताबारे चासो व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले पत्र लेखेको छ । निर्वाचन निश्पक्ष, स्वच्छ, धाँधलीरहित र विश्वसनिय बनाउन संघले गरेको तयारीबारे बुझ्न परराष्ट्रले पत्र लेखेको हो । पाँच दिनभित्र पत्रको जवाफ दिन भन्दै मन्त्रालयले एनआरएनको समन्वय परिषदलाई पत्र लेखेको हो ।

एनआरएनको दशौं महाधिवेशन आगामी दशैं छेकोमा हुँदैछ । चुनाबमा धाँधली र राजनीतिकरण हुने आरोप खेपिरहेको एनआरएनलाई पहिलोपटक परराष्ट्रले पत्र लेखेको हो । जापान, बेलायत लगायतका एनसीसीको चुनावमा धाँधली भएको आरोप लगाएपछि केही संस्थाले परराष्ट्रलाई जानकारी गराएका थिए ।

पत्रमा मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेका छन् । पत्रमा अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको विवरणबारे चासो व्यक्त गरिएको छ। महाधिवेशन प्रतिनिधिहरुको विवरण १४ अगष्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालयमा पेश गर्नुपर्नेमा सो मितिभन्दा पछाडि पनि त्यस्तो कार्य भई रहेको समेत पत्रमा उल्लेख छ ।

एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले परराष्ट्र मन्त्रालयको पत्र प्राप्त भएको जनाएका छन् । साथै महासचिव डा. हेमराज शर्माले दूतावास र मन्त्रालयको भूमिकाप्रति प्रश्न गरेका छन् । ‘राष्ट्रिय समन्वय परिषद्का आन्तरिक मामलामा दूतावास र परराष्ट्र मन्त्रालय यसरी प्रत्यक्ष संलग्न हुनुले धेरै प्रश्न उठाएको छ’ महासचिव. शर्माले भने।

जापानको विवाद के हो ?

खासगरी एनसीसी जापानको निर्वाचनलाई लिएर परेको उजुरीका आधारमा मन्त्रालयले आइसीसीसँग स्पष्टीकरण सोधेको हो । जापानमा भएको निर्वाचन निष्पक्ष नभएको भन्दै अध्यक्षका चार उम्मेदवारसहित विभिन्न पदका २९ जना उम्मेदवारले त्यहाँको निर्वाचन समितिमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा गरिएको छानबिनमा पनि निर्वाचन निष्पक्ष हुन सकेको पाइएको थियो । जापानको निर्वाचन विवादका बारेमा छानबिन गर्न गठित समितिले दश दिन अगाडि नै प्रतिवेदन आइसीसीलाई बुझाए पनि आइसीसीले कुनै निर्णय गरेको छैन ।

जापानका उम्मेदवार तथा संघका केही पञ्जीकृत सदस्यहरुले परराष्ट्र मन्त्रालयमा पनि उजुरी दिएका छन् । केही पञ्जीकृत सदस्यहरुले त नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा पनि उजुरी दिएका छन् । आफ्नो नाममा छुट्टै इमेल बनाई अर्कै व्यक्तिले मतदान गरेर साइबर क्राइम गरेको सीआइबीमा दिइएको उजुरीमा उल्लेख छ ।

गत जुलाई ३०का लागि तोकिएको एनसीसी जापानको निर्वाचनमा २९ सय भन्दा बढी मत ग्रुपमेलमार्फत मतदान गरिएको पाइएको छ । साठी वटा ग्रुप मेल मार्फत ती मत मतदान गरिएको हो ।

राजन प्रधानांगको संयोजकत्वमा गठित छानबिन समितिले निर्वाचन निष्पक्ष हुन नसकेको, जापान भन्दा बाहिरबाट पनि मतदान गरिएको, ग्रुप मेलबाट २९०४ जना मतदाताको मतदान गरिएको र उनीहरुलाई मतदानबाट बन्चित गरिएको निष्कर्षसहितको प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनको निष्कर्षका आधारमा जापानमा पुनः निर्वाचन गराउनुपर्ने देखिएपनि आइसीसीले भने बेवास्ता गर्दै आइरहेको छ ।

यसअघि नै जापानस्थित नेपाली राजदूतवासले पनि छानबिन समितिको प्रतिवेदनसहितको जानकारी परराष्ट्रमन्त्रालयलाई पठाएको थियो । विभिन्न कोणबाट गरिएका छानबिन र अनुसन्धानका कारण आगामी अक्टोबरमा हुने आइसीसीको निर्वाचन पनि धाँधलीरहित र निष्पक्ष हुनेमा आशंका बढेपछि परराष्ट्रले चासो देखाएको हो ।

स्पष्टीकरण पठाउँछौं : पन्त

यसैबीच, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले सोधेका प्रश्नको जवाफ समयसीमा भित्रै पठाउने बताएका छन् । परराष्ट्र मन्त्रालयको चिठी सार्वजनिक भएपछि संवाददाताहरुसँग कुरा गर्दै पन्तले भनेका छन्, मन्त्रालयले चासो व्यक्त गरेका सबै विषयमा समयभित्रै जवाफ पठाउँछौं।’

परराष्ट्र मन्त्रालय संघको नियामक निकाय हो । यसअघि गत जनवरीमा आयोजना गरिएको विशेष महाधिवेशनपूर्व पनि परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । परराष्ट्र मन्त्रालयले सचेत गराएपछि संघको नेतृत्व सहमतिमा विशेष अधिवेशन गर्न तयार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर