एमालेबाट रित्तै निस्किए बामदेव, गन्तव्य अनिश्चित – Nepal Press

एमालेबाट रित्तै निस्किए बामदेव, गन्तव्य अनिश्चित

काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा गएर पार्टीका सबै पदबाट औपचारिक रुपमा राजीनामा दिएसँगै नेकपा (एमाले)बाट बामदेव गौतमको दोस्रोपटक बहिर्गमन भएको छ । पहिलो बहिर्गमनमा उनका भावि यात्रा निश्चित थियो, तर अहिले छैन ।

महाकाली सन्धिमा राष्ट्रघात भएको भन्दै उनले २०५५ मा एमाले फुटाएर माले बनाएका थिए । संसदको तत्कालीन ठूलो दल एमालेले बामदेवसहित १० सांसदलाई कारवाही गर्दा पनि तत्कालीन सभामुख रामचन्द्र पौडेलले उक्त कारवाहीलाई बैधानिकता नदिइ ४० प्रतिशत संख्या पुर्‍याएर पार्टी फुटाउन सहयोग पुर्‍याएका थिए ।

त्यो बेला गौतम ४० प्रतिशत हिस्सा पार्टीबाट लगेका वामदेव अहिले एक्लै बाहिरिएका छन् । उनको राजनीति अब कता मोडिएला भन्न सकिने अवस्था छैन । यद्यपि गौतमसँग सिमिति विकल्पहरु बाँकी छन् ।

एमाले छाड्दा बुझाएको राजीनामा पत्रमा गौतमले ओलीमाथि विभिन्न आरोप लगाएका छन् । आफूले एमालेमा पुर्याएको योगदान र अध्यक्ष केपी शर्मा ओलीसँगको व्यक्ति सम्बन्धको पनि उनले स्मरण गरेका छन् ।

नेकपा एकता र विभाजनका सूत्रधार

२०७४ सालमा बनेर भत्किएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताको असली सूत्रधारका रुपमा गौतमले आफूलाई प्रस्तुत गर्छन् ।

आफूले नै माओवादी अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ लाई एमालेसँग एकताका लागि अ‍ोलीसँग प्रस्ताव राख्न सुझाएको पटक-पटक बताउने गरेका छन् ।

यसलाई प्रचण्डले पनि स्वीकार गरेका थिए । गौतमले आफूसँग त्यो प्रस्ताव गरेपछि आफू पहिलो पकट ओलीसँग पार्टी एकीकरणको प्रस्ताव लिएर गएको प्रचण्डले एक/दुई पटक उल्लेख गरेका छन् ।

त्यसो त नेकपा विवादका उत्कर्षमा पनि गौतम ‘निर्णायक’ भूमिकामा देखिएका थिए । उनी तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयमा थिए । ओलीलाई विष्णु पौडेल र ईश्वर पोखरेलले खुलेर साथ दिन्थे । नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग नारायणकाजी श्रेष्ठ थिए । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ ओलीको विरोध गर्दैनथे । बैठकमा प्राय मौन बस्थे ।

अर्कातिर झलनाथ खनाल र माधव नेपाल प्रचण्डसँग समदूरीमा थिए । तर, गौतम भने ‘पेन्डुलम’ जस्तै थिए । कहिले कता ढल्किने, कहिले कता । अरुलाई प्रयोग गर्न खोज्दा उनी खासमा उनी ओली र प्रचण्डबाट प्रयोग भए । कहिले ओलीले प्रयोग गरे कहिले प्रचण्डबाट ।

तत्कालीन नेकपा बिभाजनमा ‘भैँसेपाटी गठबन्धन’ लाई निकै जिम्मेवार ठानिन्छ जुन उनकै घरमा बनेको थियो । नेकपामा उनी जता ठल्किन्छन् उतै पल्लाभारी हुने र त्यही पक्ष निर्णयमा हावी हुने अवस्था थियो ।

तर, वामदेवको शुरुदेखिको भूमिका र अडान एकनासको रहेन । उनी आफ्नो एउटै अडानमा सधै अडिग भएको भए नेकपा भित्रको विवादले एउटा निकास पाउथ्यो र सायद नेकपा विभाजनसम्म पनि जाँदैन्थ्यो भन्ने विश्वास कतिपयको छ ।

हाल एकीकृत समाजवादीमा रहेकी रामकुमारी झाँक्रीले नेकपा विभाजनमा गौतम पनि उत्तिकै जिम्मेवार रहेको ठहर्‍याएकी थिइन् । कहिले प्रधानमन्त्री पदमा त कहिले राष्ट्रियसभाको पदमा लोभिएर उनले नेकपामा अवसरवादी चरित्र प्रदर्शन गरे ।

नेकपा विवादले निर्णायक चरण पाउँदै गर्दा प्रधानमन्त्रीको लोभमा प्रचण्ड समूहलाई धोका दिए भने राष्ट्रियसभा सदस्यको लोभमा ओलीलाई धोका दिए ।

अध्यक्ष र महासचिव बाहेक कुनै पद नभएको नेकपामा उनकै कारण उपाध्यक्ष पद सिर्जना गर्नुपर्ने बाध्यता आइलागेको थियो ।

नेकपा राजनीतिक रुपमा विभाजित भइसकेपछि उनले नेकपा एकता अभियान घोषणा गरे । वैधानिक रूपमै नेकपा विभाजित भइसकेपछि भने उनले त्यसलाई बदलेर एमाले एकता अभियान बनाए ।

नेकपा एकता अभियान बनाइराखेकै भए सायद उनको ओझ केही बढ्थो होला । तर, उनले त्यो कायम राख्न सकेनन् ।

सेना बिनाका सेनापति

एमालेबाट फुट्दा ४० प्रतिशत शक्ति लिएर गएका गौतमले २०५६ को आम चुनावमा एक सिट पनि जित्न सकेनन् ।

चुनावमा नराम्रो पराजय भोगेपछि निराश भएका गौतम २०५८ मा पुन: एमालेमै मिसिए । तर, मालेबाट एमालेमा फर्किदा उनी एक चौथाइ शक्तिसहित मात्रै फर्किएका थिए ।

सिपी मैनाली लगायतका नेताहरुले माले छोड्न मानेनन् । केही माओवादीमा गए । तत्कालीन मालेका युवा नेताहरु भरत ढुंगाना, हिमाल शर्मा, कृष्ण केसी लगायतहरु माओवादीमा गएका थिए ।

त्यसपछि पनि उनको शक्तिमा क्षय हुँदै गयो । एमालेको कुनै महाधिवेशनमा कुनैलाई र कुनै महाधिवेनमा कुनैलाई साथ दिएका कारण उनकै सहकर्मीहरु उनीसँग भर पर्न सकेनन् ।

अस्थिर राजनीतिक चरित्रका कारण घनश्याम भुसाल, योगेश भट्टराई, पद्मा अर्याल लगायतका धेरै प्रभावशाली नेताहरुले उनको साथ छोडे ।

नेकपामा रहँदा पनि उमादेवी कोइराला, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, दलबहादुर राना, बलराम बाँस्कोटा, भैरवबहादुर सिंह, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, हरिप्रसाद पराजुली, महेश्वर पाठक, भूपेन्द्रबहादुर थापा लगायतका नेताहरु उनीसँग थिए ।

तर, नेकपा विभाजनपछि भने उनीहरुले पनि साथ छोड्न थाले । पुनस्र्थापित एमालेमा पनि गौतम कहिले ओलीलाई ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्नँ’ भन्थे । उही बेला एमालेमा अन्तरसंघर्ष गरिरहेका माधव नेपालहरुलाई पार्टी फुटाए आफ्नो साथ हुने भन्दै उक्साउथेँ ।

पछिल्लो एमाले विभाजनका बेला भने अन्तिम समयसम्म साथ दिएका हरि पराजुलीले पनि उनको साथ छाडेका थिए । त्यति मात्रै नभर श्रीमती तुलास थापा पनि एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न गएकी थिइन् । कानूनी कारणले उनको सनाखत भने हुन पाएन ।

राजनीतिक पुँजी र सांगठानिक शक्तिका हिसाबले अब गौतम रित्तोे छन् । राजीनामापछिको उनको यात्रा अब कता हुन्छ भन्ने एकिन भएको छैन् ।

धेरैले उनी माधव नेपाल नेतृत्वको समाजवादीमा जाने आँकलन गरेका थिए । तर, जबज त्योगेर माधव नेपालको पार्टीमा आफ्नो ढोका बन्द भइसकेको उनी आफैले बताउने गरेका छन् ।

जबज मान्नुपर्ने, अर्को अध्यक्ष पनि रहने व्यवस्था बनाएर आफूलाई पनि अध्यक्ष बनाउनु पर्ने र संघीयता परिमार्जन गनुपर्ने जस्ता दिनदिनै थपिरहेका उनका सर्तले माधव नेपालको पार्टीमा पनि उनको ‘इन्ट्रि’ सहज छैन ।

यस्तोमा अब प्रश्न उठ्छ- बामदेव गौतम अब कता ? यो प्रश्न अझैं अनुत्तरित छ । उनीसँग माधव नेपालसँग कुनै प्रकारको समझदारी गरेर जनता समाजवादीमा जाने वा स्वतन्त्र कम्युनिष्ट नेताका रुपमा यत्तिकै बस्ने बिकल्प छ । अथवा, फेरि पनि एमाले र जनता समाजवादीबीच एकता गराउने अभियानमा पनि जुट्न सक्छन् ।


प्रतिक्रिया

One thought on “एमालेबाट रित्तै निस्किए बामदेव, गन्तव्य अनिश्चित

  1. अब पिंड बोकेर तिर्थ जाने नि हो कसले रोकेको छ र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर