कांग्रेस कार्यकर्ता मुक्का हान्दै, प्रहरी सम्झाइबुझाइ गर्दै (भिडियो) – Nepal Press

कांग्रेस कार्यकर्ता मुक्का हान्दै, प्रहरी सम्झाइबुझाइ गर्दै (भिडियो)

काठमाडौं । गत शुक्रबार राती १० बजेको समयमा न्यूरोडमा खटिएको जनसेवा प्रहरीको टोलीले गस्ती गर्दै थियो । न्यूरोडको पिपुल्स प्लाजा नजिकै प्रहरी गस्ती टोली पुग्दा सडकमा आधा दर्जन युवाको समूह हल्लाखल्ला गर्दै आयो ।

उक्त टोलीलाई प्रहरीले सोधपुछ गर्न खोज्यो । उनीहरु होटलबाट मदिरा सेवन गरेर फर्किएका थिए । प्रहरीले प्रश्न गर्यो– ‘तपाईंहरु कहाँबाट हो ? कोरोनाको बेला यति राती रक्सी पिएर सडकमा हल्ला गर्न मिल्छ ?’

उनीहरुमध्ये धेरैले केही नबोले पनि २ जनाले भने उल्टै प्रहरीलाई तिमीहरु को हो ? भन्दै थर्काउन खोजे ।

बर्दीमा आएका प्रहरीलाई थर्काउन खोजेपछि प्रहरी टोलीले भ्यान रोक्यो र उनीहरुलाई झपार्यो । हुल्याहा टोलीले प्रहरीमाथि अपशब्द बोल्दै आक्रमण गर्न थाले । समूहका केहीले ठेलमठेल गर्दै एक जनाले प्रहरीको मास्क खोलिदिने र अर्कोले मुक्का हान्छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको ४ मिनेट २७ सेकेन्डको भिडियोमा फिल्डमा खटिएका कमाण्डरले हुल्याहा समूहलाई रोक्ने प्रयास गरेको देखिन्छ । तर आफ्ना प्रहरी अधिकारीमाथी मुक्का प्रहार हुदाँ पनि उनले कुनै बल प्रयोग गर्दैनन् । बरु प्रहरीले मोबाइलबाट उनीहरुको भिडियो खिचेको देखिन्छ ।

ठूला कुरा गर्ने ? फोटो खिच्ने ? भन्दै उनीहरु प्रहरीमाथि थप आक्रामक बन्छन् । भिडियोमा एक जनाले समूहलाई छुट्याएर बाहिर लैजान प्रयास गर्छन् । कुटपिट गरिसकेपछि केही पर गएका उनीहरु फेरि फर्केर आएर प्रहरीमाथि जाइलाग्छन् । यति हुँदासम्म गस्तीमा खटिएका प्रहरी कमाण्डर भने त्यो समूहलाई सम्झाउन मात्रै खोजिरहेका छन् ।

२ जनाको पहिचान, अभद्र व्यवहारको मुद्धा

पिपुल्स प्लाजा अगाडि ड्युटीमा रहेका प्रहरीलाई मुक्का हान्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । भिडियो सार्वजनिक भएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले प्रहरीलाई कुटपिट गर्ने व्यक्तिको समूह पहिचान गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

परिसरका अनुसार प्रहरीलाई मुक्का हान्ने घटनामा कांग्रेस कार्यकर्ता कमल शाही र बिमल चन्दसहित आधा दर्जन व्यक्ति संलग्न रहेको पाइएको छ । प्रहरीमाथि अभद्र व्यवहारको कसूरमा महानगरीय प्रहरी बृत्त जनसेवा न्यूरोडले उनीहरूविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिसकेको परिसरले जनाएको छ ।

ति अधिकारीले प्रहरीले डिउटी गर्ने क्रममा कुटपिट हुनु सामान्य घटना भएको बताए । उनले भने, ‘डिउटीमा क्रममा अहिले प्रहरीमाथि कुटपिट हुन्छ त कहिले नागरिकमाथि पनि हुन्छ । यस्तो हुनु सामान्य हो । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मात्रै यो अलिकति असामान्य जस्तो देखिएको हो ।’

तर ड्यूटीमा खटिएका प्रहरीमाथी हातपात गर्नेमाथि कारवाहीका लागि अभद्र व्यवहार विरुद्धको मुद्धा दर्ता भइसकेको परिसरले जनाएको छ । ति अधिकारीका अनुसार कुटपिटमा संलग्न व्यक्तिहरु उपत्यकाबाहिर रहेकाले केही दिनमा नै पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइने छ । भिडभाड धेरैको देखिए पनि २ जना हातपातमा संलग्न भएकाले उनीहरु विरुद्ध मात्र मुद्धा दर्ता भएको हो ।

ति प्रहरी अधिकारीका अनुसार बाँके कोहलपुर नगरपालिका २ का कमल शाहीले मुक्का हानेका र उक्त नगरपालिकाकै वडा नम्बर १४ का बिमल चन्दले मास्क खोलेका थिए । शाही नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ र चन्द भने काँग्रेस निटक तरुण दलमा आवद्ध रहेका पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर