चीनले भन्यो : नेपालसँग कुनै सीमा विवाद छैन, केही व्यक्तिले उछाल्ने काम गरे – Nepal Press

चीनले भन्यो : नेपालसँग कुनै सीमा विवाद छैन, केही व्यक्तिले उछाल्ने काम गरे

काठमाडौं । चीनले नेपालसँगको सीमालाई लिएर कुनै विवाद नरहेको बताएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले आज साँझ विज्ञप्ति जारी गर्दै सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको बताएका हुन् ।

‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’

चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दा लगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाएको छ ।

केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवादको निम्त्याउने प्रयास गरेको जनाउँदै चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरणलाई बुझ्न समेत ध्यानाकर्षण गराएको छ ।

दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क संजाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ ।

हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले जनाएको छ ।

केही वर्षदेखि चीन र नेपालले सक्रियतापूर्वक सीमा व्यवस्थापन, बन्दरगाह निर्माण, सीमापार सहायता आदानप्रदान गरेको जनाउँदै चीनले दुई मुलुकका नागरिकलाई यसबाट फाइदा मिलेको समेत जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर