सरकारले सहयोग गरे केही वर्षभित्रै औषधिमा आत्मनिर्भर हुने – Nepal Press

सरकारले सहयोग गरे केही वर्षभित्रै औषधिमा आत्मनिर्भर हुने

काठमाडौं । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोही अनुसार अनुकुल वातावरण निर्माण गरे नेपाल औषधिमा आत्मनिर्भर हुने व्यवसायीले बताएका छन् ।

केही वर्ष अघिसम्म करिव १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करिब ५० प्रतिशत पुगेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दावी उद्योगीहरूको छ । यसका लागि हाल औषधि ऐन २०३५ सहितलाई संशोधन गर्नुपर्छ ।

औषधि उद्योगीहरूसँग नेपाल उद्योग वाणिज्य महासंघले गरेको छलफलमा औषधि लगायत उद्योग व्यवसायसंग सम्बन्धित जतिपनि ऐन कानूनहरू छन् तीनको प्रस्तावनामै उद्योग व्यवसायलाई निरूत्साहित गर्ने खालको भाषा रहेकाले त्यसमा सुधारको खांचो रहेको सुझाव व्यवसायीले दिएका छन् ।

औषधि उत्पादकहरुको अध्ययन अनुसार नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्बको रहेको छ । त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ भने बाँकी औषधि भारत लगायतका मुलुहरूबाट आयात हुने गरेको छ ।

केही स्वदेशी उद्योगहरूले थोरै मात्रामा निर्यात समेत गर्दै आएका छन् । औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको बताइन्छ ।
नेपाल औषधि उत्पादक संघ (एपोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यहरूको सम्मानमा महासंघले आयोजना गरेको स्वागत एवं बधाई कार्यक्रममा औषधि उद्योगीहरूले महासंघले अगाडी सारेको राष्ट्रिय आर्थिक रूपान्तरणको मार्गचित्र (नेट) २०३० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले औषधि उत्पादक संघका पदाधिकारीहरूलाई बधाई दिंदै मुलुकको आर्थिक भविष्य उज्जल बनाउने लक्ष्यका साथ महासंघले ल्याएको नेट २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरेका छन् ।

गोल्छाले भने, ‘मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ, लगानी विस्तार र रोजगारी सृजना गर्न सकिन्छ एकै ठाउँमा बसौं अप्ठेराहरू पहिचान गरी त्यसको कार्यान्वयका लागि सरकारसँग पहल गरौ, महासंघ त्यसको नेतृत्व लिएर अगाडी बढ्न तयार छ ।’

महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघले आफ्ना सदस्यहरूको समस्या समाधानमा सधै उच्च प्राथमिकता दिएको बताए ।
औषधि उत्पादक संघका अध्यक्ष प्रज्जवलजंग पाण्डेले केही वर्ष अघिसम्म पनि नेपालमै औषधि बन्छ र भन्ने आमधारणा रहेकोमा अहिले केही मात्रामा निर्यात समेत गर्न सक्ने अवस्थामा पुगेको बताउँदै सरकारको उचित सहयोग हुन सक्यो भने अबको केही वर्षमै औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने दाबी गरे ।

मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा हामी छौं यसमा हामीले महासंघबाट ठूलो सहयोगको अपेक्षा गरेको छौं । उनले भने मुलुकको उज्जवल आर्थिक भविष्यको परिकल्पनाका साथ महासंघले अगाडी बढाएको नेट २०३० मा आफ्नो संस्थाको पूर्ण सहयोग रहने प्रतिवद्धता छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर