पशुपतिनाथ मन्दिर आगामी शुक्रबारदेखि खुला हुने – Nepal Press

पशुपतिनाथ मन्दिर आगामी शुक्रबारदेखि खुला हुने

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाले बन्द रहेको पशुपतिनाथ मन्दिर भदौ २५ देखि खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषका निर्देशक घनश्याम खतिवडाले कोभिड प्रोटोकलका साथ मन्दिर खुल्ला गर्ने जानकारी दिए ।

मन्दिर खुल्ला गर्ने विषयमा र पूजापाठ संचालनबारे सरोकारवालासँग परामर्शका लागि बेलाइएको उनले जानकारी दिए । कोरोनाको दोस्रो लहर सुरु भएपछि वैशाख १६ गतेबाट सर्वसाधारणका लागि बन्द गरिएको थियो । मन्दिरमा नित्यपूजा भने निरन्तर जारी थियो ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज)को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उनले जनाए ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उनले सुनाए । मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ । भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ । दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ ।

विसं २०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । दश महिनापछि २०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो । सुरुमा दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो । बिहान ६ः०० देखि अपराह्न २ः०० बजेसम्ममात्र मन्दिर भक्तजनका लागि खुला गरिएको थियो ।

भक्तजनका लागि मन्दिर खुला गरिए पनि विदेशी पर्यटकका लागि भने पशुपति क्षेत्र विसं २०७६ चैतदेखि नै बन्द गरिएको छ । पशुपति क्षेत्रका सबै टिकट काउन्टर पनि त्यसै बेलादेखि बन्द छन् । पर्यटकको टिकटबाट कोषलाई प्राप्त हुने करोडौँ रुपैयाँ उठ्न छाडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर