सनाखतपछि भदौ २२ सम्म फेरि साबिककै पार्टीमा फर्किन पाइन्छ कि पाइँदैन ? – Nepal Press

सनाखतपछि भदौ २२ सम्म फेरि साबिककै पार्टीमा फर्किन पाइन्छ कि पाइँदैन ?

आयोग भन्छ- पाइँदैन,सभामुख र कानूनविद भन्छन्- २२ गतेसम्म जता गए पनि हुन्छ

कैलाली। राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेशपछि सुदूरपश्चिम प्रदेशमा विहीबार साँझसम्म एमालेबाट १० जना सांसद र ८ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

सनाखत गरेका केही प्रदेशसभा सदस्यले आफू एमालेमै फर्किने प्रयास गरेपछि उनीहरुले सनाखत सच्याउन पाउने कि नपाउने भन्ने कानूनी झमेला देखिएको छ । निर्वाचन आयोगले आगामी भदौ २२ गते सम्म पुरानो दलबाट नयाँ दल रोज्ने व्यवस्था लागू गरेको छ । तर, यो बीचमा नयाँ दलमा सनाखत गरेका जनप्रतिनिधि फेरि पुरानै दलमा रहन चाहे के हुने भन्नेबारे अहिले अन्यौल पैदा भएको छ ।

नयाँ दलमा सनाखत गरेका जनप्रतिनिधि पुरानो दलमा जान नसक्ने प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले बताए । उनले सनाखत गरिसकेपछि सच्याउने व्यवस्था अहिले नरहेको बताए ।

‘फिर्ता लिने व्यवस्था छैन । यो उम्मेदवारी दर्ता होइन । दल छान्न पाउने व्यवस्था गरिएको हो’ उनले भने, ‘कानुनमै फिर्ता हुने प्रावधान छैन । ’

दल रोज्न भन्दा पहिले पनि सबै कुरा बुझाइएको हुने उनले बताए ।

‘उनले फारमै होस हवासमा, मैले राजीखुशी सही छाप गरेको छु । फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनेर सनाखत गरेको हुन्छ ’ उनी भन्छन् त्यसरी दल रोजेपछि फेरि फिर्ता हुन पाउने भन्ने छैन ।’

सभामुख भन्छन्- सनाखत सच्याउन पाइन्छ

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले भने २१ दिन भित्र दल रोज्न पाउने अधिकार भएको हुँदा पुन: पुरानो दलमा आउन सकिने बताए । ‘यसमा दल त्यागको धारा आकर्षित हुन्छ’ उनले भने, ‘२१ दिन भित्र आफ्नो पुरानो दलमा फर्किन पाइन्छ ।’

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०६८ मा भनिएको छ- ‘छुट्टै नयाँ दल गठन भएमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेका त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।’

सभामुख थापाले नयाँ दल रोज्न पाउने सांसदले तोकिएको समयभित्र आफ्नो पुरानो दलमा फर्किन पाउने अधिकार समेत रहेको दावी गरे ।

यहाँ फेरि पुरानो दलमा जान नपाउने नभनिएको हुँदा २१ दिनभित्र सनाखत गरेको दलमा असहमति भएमा पुरानो दलमा जान पाइने सभामुख थापाको दाबी छ ।

‘जहाँ सजिलै आउन सकिन्छ त्यहाँबाट तोकिएको मितिमा त्यहाँबाट जान पनि सकिन्छ । यो प्राकृतिक न्यायको सिद्धान्त हो’ उनले भने ‘२१ दिन भित्र आफ्नो पार्टी रोज्न पाइन्छ । ’

कानूनविद्का आ-आफ्नै तर्क

संविधानविद् डा. भीमार्जुन आचार्यले पनि २१ दिन भित्र दल परिवर्तन गर्न सकिने बताए । ‘त्यो लेखेकै छ ,तोकिएको समय भित्र जहाँ पनि आउने जाने गर्न पायो कारबाही गर्न पाइँदैन उनले भने, जो जहाँ जति पटक गरे पनि मिल्छ ।’

आचार्यले अध्यादेश ल्याउनु गलत रहेको बताए । ‘यसरी अध्यादेश ल्याउनु गलत हो । तर, ल्याइसकेपछि मान्नु पर्छ उनी भन्छन् ‘२१ दिन भित्र जति पटक यता यता गर्न पनि मिल्छ ।’

यता सुदूरपश्चिम प्रदेशका मुख्यन्याधिवक्ता कुलानन्द उपाध्यायले भने सनाखत पछि पुन पुरानै दल रोज्ने बिषय कानुनमा नरहेको हुँदा त्यस्तो नगर्न नपाइने बर्ता ।

‘यस बिषयमा कानुनी व्यवस्था गरेको छैन’ उनले भने, ‘कानुनी व्यवस्था नभएको हुँदा निर्वाचन कार्यालयमा गएर दल रोजिसकेको छ । फेरी पुरानै दलमा फर्किन्छु भन्न पाइँदैन ।’

सच्याउने व्यवस्था छैन, निवेदन दिए आयोगले निर्णय गर्छ

निर्वाचन आयोगमा पनि यो विषयमा गुनासाहरु पुगेका छन् । यसबीचमा नेकपा एमाले छाडेर नेकपा एस रोजेका कतिपय जनप्रतिनिधिले आफू सूर्य चिन्हबाट निर्वाचित भएकाले सोही पार्टीमा रहने भन्दै सनाखत सच्याउन पाउनुपर्ने माग गरेका छन् ।

राजनीतिक दलका तर्फबाट पनि यो कुरा आयोगमा गएको छ । तर आयोगले भने सनाखत सच्याउन नपाउने जनाएको छ । आयोगका सचिव सुरेश अधिकारीले यो विषयमा छलफल भए पनि आयोगले तत्काल केही गर्न नसक्ने बताए ।

उनले भने, ‘एकपटक दल रोजेपछि फेरि सच्याउने भन्ने छैन । यो कुरा हामीकहाँ पनि आएको छ । यदि कुनै जनप्रतिनिधिले आफ्नो निवेदन जिल्ला र प्रदेश निर्वाचन कार्यालयमार्फत खामबन्दी गरेर पठाउनुभयो भने आयोगले केही निर्णय गर्न सक्छ ।’

सनाखत सच्याउने विवाद बढ्दै गए अदालतसम्म पुग्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर