कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया शुरु, आज देशभर वडा अधिवेशन – Nepal Press

कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया शुरु, आज देशभर वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजबाट शुरु भएको छ । आज देशभरका अधिकांश वडाहरुमा कांग्रेसको नयाँ नेतृत्व चयन हुँदैछ ।

मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशन प्रक्रिया वडाबाट शुरु भएको हो । क्रियाशील सदस्य विवाद टुंगिएका जिल्लाहरुमा आज वडाको अधिवेशन भइरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सर्वसम्मत नभएका ठाउँमा निर्वाचन प्रतिनिधिको उपस्थितिमा निर्वाचनबाट नेतृत्व चयन हुनेछ ।

कांग्रेसले बाँकी जिल्लाका वडाहरुमा २६ भदौ अघि अधिवेशन सम्पन्न गरिसक्ने जनाएको छ । २७ भदौमा गाउँ,नगर अधिवेशन हुनेछ ।

वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् ।

सभापति देउवाकाे भिडियाे सन्देश

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देशभरका कार्यकर्तालाई भिडियो सन्देश जारी गर्दै कोरोना महामारीका बीचमा सुरु हुन लागेको महाधिवेशन प्रक्रियामा भौतिक दूरी कायम गरी वा अधिवेशन सम्पन्न गर्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका ८ लाखभन्दा बढी क्रियाशील सदस्य आजदेखि १४औं महाधिवेशको प्रक्रियामा सहभागी हुनु भएको छ र मैले ती सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु ।’

उनले लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत् वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘वलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले सन्देशमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर