विश्वकप छनोटमा स्पेनको ६६ खेलको अपराजित यात्रा टुंगियो – Nepal Press

विश्वकप छनोटमा स्पेनको ६६ खेलको अपराजित यात्रा टुंगियो

एजेन्सी । स्पेनले फिफा विश्वकपको छनोट प्रतियोगितामा सन् १९९३ पछि पहिलोपल्ट पराजय ब्यहोरेको छ । पछि परेको स्थितिबाट पुनरागमन गरी २-१ को जितका साथ स्वीडेनले स्पेनको ६६ खेलको अपराजित यात्रा अन्त्य गरिदिएको हो ।

अन्तर्राष्ट्रिय डेब्यूमै कार्लोस सोलरको भली प्रहार गोल हुँदा लुइस इनरिकेको स्पेनले खेलको सुरुआतमै अग्रता बनाएको थियो ।

तर त्यसको केहि सेकेण्डमै स्वीडेनले गोल फर्कायो । अलेक्जान्दर इसाकले पाहुना टोलीको रक्षात्मक कमजोरीको फाइला उठाउँदै गोल गरेका थिए ।

५७ औं मिनेटमा डेजान कुलुसेभ्स्कीको पासमा भिक्टर क्लासेनले १२ यार्डबाट गोल गरी स्वीडेनलाई चर्चित जित दिलाए ।

सन् १९९३ मा विश्वकप छनोट प्रतियोगितामा स्पेनले स्वीडेनकै छिमेकी देश डेनमार्कसँग कोपनहेगनमा पराजय ब्यहोरेको थियो । त्यसयता स्पेनले विश्वकप छनोटमा ५२ जित र १४ बराबरीको नतिजा निकालेको थियो ।

यो जितले ३ खेलबाट ९ अंकसहित स्वीडेन समूह बी को शीर्ष स्थानमा पुगेको छ । चार खेलबाट ७ अंकसहित स्पेन समूहको दोस्रो स्थानमा छ । यो समूहमा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपमा सिधै छनोट हुनेछ । अन्यथा प्लेअफ खेल्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर