वैज्ञानिक समाजवाद नै कम्युनिस्टबीच ध्रुविकरणको आधार भएको ६ कम्युनिष्ट पार्टीका नेताको निष्कर्ष – Nepal Press

वैज्ञानिक समाजवाद नै कम्युनिस्टबीच ध्रुविकरणको आधार भएको ६ कम्युनिष्ट पार्टीका नेताको निष्कर्ष

पोखरा ।६ कम्युनिस्ट पार्टीका नेताले बैज्ञानिक समाजवादलाई मूल्य आधार मान्ने हो भने मात्र नेपालका कम्युनिस्टबीच ध्रुविकरण सम्भव हुने निष्कर्ष निकालेका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले पोखरामा विहीवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै ६ कम्युनिस्ट पार्टीका नेताले यस्तो निष्कर्ष निकालेका हुन् ।

नेकपा एमालेका नेता खगराज अघिकारी, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरी अधिकारी, नवगठित एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाध बराल, जनमोर्चा नेपालका प्रदेश अध्यक्ष शंकर बराल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी र नेकपा माओवादीका प्रवक्ता कृष्णप्रसाद जैसीले एकै स्वरमा यस्तो धारणा राखेका हुन् । उनिहरुले भने, ‘वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन कम्युनिस्ट आन्दोलनलाई केन्द्रीत गरौं, स्वतः ध्रुविकरणको वातावरण बन्नेछ ।’

नेपालका कम्युनिस्ट पार्टीको आन्तरिक जीवन, पार्टी पद्धति, कार्यशैली र विधि कम्युनिस्ट अनुरुप हुन नसकेको सबै नेताले स्वीकार पनि गरेका छन् । नेपालका कम्युनिस्ट पार्टीभित्र कम्युनिस्ट आचरण व्यवहार नभएकोले आफूहरु जुन पार्टीमा रहे पनि त्यहाँबाट सकारात्मक पहल गर्दै बैज्ञानिक समाजवाद मूख्य एजेण्डा बनाएर लाग्ने हो भने ध्रुविकरण धेरै टाढा नरहेको उनीहरुको धारणा थियो ।

तर संसदीय व्यवस्थाको विकल्पमा जाने विषयमा भने नेताका मत बाझिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताले अहिलेको व्यवस्था परम्परागत संसदीय व्यवस्था नभई सुधारिएको संसदीय व्यवस्था भएको र यसलाई भरपुर प्रयोग गर्दै समाजवादी व्यवस्थातिर रुपान्तरण गर्न सकिने बताए । तर क्रान्तिकारी माओवादी, नेकपा माओवादी र जनमोर्चा नेपालका नेताले भने संसदीय व्यवस्थाको विकल्पमा जानुपर्ने मत राखेका छन् ।

एमाले नेता खगराज अधिकारीले भने, ‘गणतन्त्र स्थापनापछि हामी समाजवादी व्यवस्थामा जानका लागि राजनीतिक रुपमा वातावरण बनेको छ । आर्थिक र सामाजिक क्रान्तिको कार्यभार पुरा गरेपछि समाजवादको अर्को चरणमा प्रवेश गरिन्छ ।’ अधिकारीले अहिलेसम्म कम्युनिस्टले वर्गिय विश्लेषण नगरेकाले कम्युनिस्ट आन्दोलन अलमलमा परेको तर्क गरे । ‘पुष्पलालले चिनियाँ कम्युनिस्ट आन्दोलनलाई बुझेर वर्ग विश्लेषण गर्नुभयो, वास्तवमा नेपाली समाजको वर्ग विश्लेषण अहिलेसम्म भएकै छैन ।’ नयाँ समाज विकासका आधारमा वर्ग विश्लेषण गरौं, समाजवादका लागि सडकमा जाऔं, त्यही सडकमै ध्रुविकरणसहित एकता पनि हुन्छ,’ नेता खगराजको दावी थियो ।

नेकपा माओवादी केन्द्रका नेता हरी अधिकारीले भने, ‘प्रचण्ड र मदन भण्डारी नेतृत्वमा भएको आन्दोलनको प्रतिफल नै अहिलेको गणतन्त्र हो, मूख्यतः जनयुद्धको धक्काले निरंकुशतन्त्र पछारियो, ०६२-६३ को जनक्रान्तिले संस्थागत गर्यो ।’ अहिले नेपालमा दुई खाले प्रवृति बोकेका कम्युनिस्ट पार्टी भएको र क्रान्तिकारी विचारले जित्नेवित्तिकै कम्युनिस्ट आन्दोलनका लागि ध्रुविकरणको आधार तयार हुने उनको दावी थियो ।

एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले सबै कम्युनिस्ट पार्टीका केहि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्ने आँट गर्दै साँच्चिकै कम्युनिस्ट आन्दोलन उठाउँने इच्छाशक्ति देखाउने हो भने अहिले पनि उपय्ुक्त अवसर रहेको बताए । उनले भने, ‘सबै पार्टीभित्रका राम्रा पक्ष लिँदै क्रान्तिकारी पार्टी निर्माणमा हाम्रो पुस्ताले भूमिका खेल्नुपर्छ ।’

तर क्रान्तिकारी माओवादी र नेकपा माओवादीका नेता नारायण अधिकारी र कृष्णप्रसाद जैसीले भने त्यसको ठाडै प्रतिवाद भने, ‘कम्युनिस्टलाई विभाजन गर्ने, कम्युनिस्ट आचरणबाट च्युत गर्ने र कम्युनिस्टलाई अवसरवादी बनाउने नै संसदवाद हो, त्यसको विकल्पमा जाने हो भने समादवादी व्यवस्थाका लागि कम्युनिस्ट आन्दोलन नयाँ आधारमा खडा हुन्छ ।’ बैज्ञानिक समाजवादमा जाने हो भने संसदवादलाई त्याग्न सक्नुपर्ने उनिहरुको जोड थियो ।

क्रान्तिकारी माओवादीका नेता अधिकारीले प्रश्न गर्दै भने, ‘अहिले यथास्थितिवादी धार शक्तिशाली छ, त्यसलाई सिध्याएर मात्र क्रान्तिकारी पार्टी बलियो हुन्छ, ध्रुविकरणका लागि हामीहरु यथास्थितिवादीसँग लड्ने साहस गर्ने कि नगर्ने ?’ नेकपा माओवादीका प्रवक्ता जैसीले नयाँ आधारमा कम्युनिस्ट आन्दोलन निर्माणका लागि हतियार, सेना र जनसत्ता बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर