नेटवर्किङ व्यवसायमाथि वाणिज्यको अनुगमन सुरु, बिल र सामान ल्याएर अध्ययन गरिँदै – Nepal Press

नेटवर्किङ व्यवसायमाथि वाणिज्यको अनुगमन सुरु, बिल र सामान ल्याएर अध्ययन गरिँदै

काठमाडौं । नेटवर्किङ व्यवसायलाई इजाजत दिएको १ वर्षपछि सरकारले कम्पनीहरुको अनुगमन सुरु गरेको छ । लाइसेन्स लिएका कम्पनीहरुले के-कसरी काम गरिरहेका छन् भनेर वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले स्थलगत अध्ययन थालेको हो ।

२०७७ सालको साउनमा वाणिज्य विभागले ७ वटा कम्पनीलाई नेटवर्किङ व्यवसाय गर्न अनुमति दिएको थियो । अनुमति पाएका कम्पनीमध्ये अहिले विभागले हेल्दी लिभिङ नेपाल प्रालि, नेचर हबर्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि र ग्लोबल ओरियन्स प्रालिमा अनुगमन सुरु गरेको छ ।

यी ४ वटा नेटवर्किङ व्यवसाय गर्ने कम्पनीको बिल र बिक्री गर्न तयार गरिएका सामान ल्याएर अध्ययन भइरहेको विभागले जनाएको छ । इजाजतभन्दा बाहिर गएर बस्तु बिक्री गरेको पाइएमा वा व्यवसाय गरेको भेटिएमा कारवाही गर्ने विभागको तयारी छ ।

अन्य बाँकी ३ वटा नेटवर्किङ कम्पनीमा पनि क्रमशः अनुगमन गर्ने विभागका प्रवक्ता शिवराज सेढाईले बताए । विभागले नियमित गर्ने अनुगमन अन्तरगत नै नेटवर्किङ व्यवसायको अनुगमन गरेको उनको भनाइ छ । विभागबाट प्रत्येक दिन ४ वटासम्म टोली अनुगमनको लागि हिँड्ने गरेको उनले जानकारी दिए ।

सेढाँईले भने, ‘विभागले कुनै कम्पनीमाथि अनुगमन गर्न चाहेमा पत्र काट्ने, उद्योगमा नै गएर अनुगमन गर्ने, विभागमा उपस्थित हुन निर्देशन दिने र कम्पनीको सबै कागजपत्र नियन्त्रणमा लिने गर्न सक्छ । अहिले चार कम्पनीको बिल र बिक्रीका लागि तयारी पारेको सामान ल्याएर हामीले अध्ययन गरिरहेका छौं । अध्ययन सकिएपछि लाइसेन्स अनुसार वा लाइसेन्सभन्दा बेगर काम गरेको जानकारी आउनेछ ।’

कम्पनीले अनुमति लिनुभन्दा पहिले यो वस्तु, यति मूल्यमा बिक्री गर्ने भनेर विभागमा प्रोजेक्ट प्रस्तुत भएको थियो । त्यही प्रोजेक्टअनुसार बस्तुको मूल्य र बस्तु बिक्री भएको छ वा छैन भनेर बिल र बिक्री गर्न तयार गरिएको बस्तु ल्याएर विभागले अध्ययन गरिरहेका सेढाईले बताए ।

विभागले नेटवर्किङ कम्पनीले ठगी गर्यो भनेर मौखिक उजुरी आउने गरेको बताएको छ । तर प्रमाण नभएको कारणले गर्दा सिधै कारवाही गर्ने आधार नभएको विभागको भनाइ छ । मौखिक जानकारी दिनेहरुले कम्पनीसँगको सम्बन्ध बिग्रिने लगायतका कुराले गर्दा प्रमाण पेस नगर्ने विभागका कर्मचारी बताउछन् ।

विभागले २०७७ साउनमा विभागले नेचर हबर्स इन्टरनेशनल प्रालि, आइबोस ग्लोबल इन्टरनेशनल प्रा.लि, न्यू विवेक इन्टरप्राइजेज प्रा.लि, हेल्दी लिभिङ नेपाल प्रालि, केयर मार्टस इन्टरनेसनल, यूटर्न इन्टरनेसनल प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिलाई वस्तुको प्रत्यक्ष बिक्री गर्ने व्यवसाय गर्न इजाजत दिएको थियो ।

विभागका अनुसार नेटवर्किङ कम्पनीले फेस क्रिम, आयुर्वेदिक सामान, साबुन, भिटामिन र आयुर्वेदिक औषधि लगायतका बस्तु बिक्री गर्न इजाजत पाएका थिए । विवाद हुँदाहुँदै पनि वाणिज्य विभागले नेटवर्किङ व्यवसायलाई लाइसेन्स दिएको भनेर आलोचनासमेत भएको थियो । लाइसेन्स दिएको लामो समयपछि विभागले कानूनअनुसार बिक्री भए-नभएको अनुगमन सुरु गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर