हल खोल्ने निर्णयपछि आशाको सञ्चार, दशैंको माहोल बनाउन जुट्दै फिल्मकर्मी – Nepal Press

हल खोल्ने निर्णयपछि आशाको सञ्चार, दशैंको माहोल बनाउन जुट्दै फिल्मकर्मी

प्रदर्शनको पर्खाइमा छन् ६० भन्दा बढी फिल्म

काठमाडौं । कोभिड-१९ मापदण्ड पालना गर्दै काठमाडौं उपत्यकास्थित फिल्म हल अब खुल्न पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि ठप्पप्राय रहेको चलचित्र क्षेत्रमा अब चहलपहल सुरु हुने आशा फिल्मकर्मीहरुमा पलाएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले भदौ १७ गतेदेखि लागू हुने गरि हल खुलाउन अनुमति दिएका हुन् । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उपत्यकाको संक्रमण दर १५ प्रतिशतमा झरे फिल्म क्षेत्र खुलाउन अनुमति दिने नियमसहितको स्मार्ट लकडाउन कार्यविधि भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो । सोही कार्यविधिअनुसार प्रशासनले सर्तसहित फिल्म हल खुलाउन अनुमति दिएको हो ।

‘सर्तसहित अनुमति दिएका हौं र अनुगमनमा प्रोटोकल पालना नभएको पाइए कार्वाही गर्छौं,’ काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले नेपाल प्रेससँग भने, ‘संक्रमण दर पुनः बढे बन्द गर्नुपर्ने हुनसक्छ । चाडपर्व पनि नजिकिएको अवस्थालाई मध्यनजर गर्दै आर्थिक क्षेत्र चलायमान गराउन पनि यो निर्णय जरुरी थियो ।’

कोभिडको दोस्रो लहर रोकथाम गर्न लागू गरिएको निषेधाज्ञाको कारण फिल्म हलहरु गत वैशाख १६ गतेदेखि बन्द थिए । झन्डै पाँच महीनापछि हलसहितका फिल्म गतिविधि खुल्ने भएपछि यसले फिल्म वृत्तमा उत्साह सिर्जना गरेको छ । फिल्मकर्मीले प्रशासनको निर्णयलाई स्वागतयोग्य भन्दै दशैंको छेकोमा फिल्मको माहौल बनाउन कस्सिने बताएका छन् ।

लगातारका दुईपटकको लकडाउनले थिलाथिलो भएको फिल्म तथा मनोरञ्जन क्षेत्रलाई प्रशासनको यो निर्णयले नयाँ रक्तसञ्चार गर्ने आशा छ । दशैं आउन ४० दिन बाँकी रहँदा भएको हल खुलाउने निर्णय लगत्तै फिल्म निर्माता र हल सञ्चालक गतिविधिलाई सक्रिय तुल्याउन जुटेका छन् ।

प्रशासनले अनुमति दिए पनि बिहीवारदेखि नै भने हलहरु खुल्ने छैनन् । पाँच महीनादेखि बन्द रहेका हलमध्ये ३० प्रतिशत सँधैको लागि बन्द भैसकेका छन् भने सयौं जनाले जागिर गुमाएका छन् । कतिपय पेशाबाटै पलायन भएर वैकल्पिक पेशामा लागेका छन् ।

चलचित्र संघका महासचिव अशोक शर्माले प्रशासनको निर्णय स्वागतयोग्य रहेको र अब हलको सरसफाइ तथा मेन्टिनेन्सपछि मात्र सञ्चालनमा ल्याइने बताए । ‘दशैंसम्म फिल्मको माहौल बनाउन हामी सक्रिय हुन्छौं,’ नेपाल प्रेससँग शर्माले भने, ‘अझै एकसातामा काठमाडौंका सबै हल खुल्नेछन् र हामीले उपत्यकाबाहिर पनि हल खुलाउन प्रशासनलाई आग्रह गर्नेछौं ।’

शर्माले अर्को सातादेखि हल खुलेसँगै सम्भवतः पुरानै फिल्मलाई रिलिज गरिने बताए । ‘केही दिनमा रिलिज पाइपलाइन सार्वजनिक गर्नेछौं,’ उनले भने, ‘सुरुमा पहिले चलेका र हिट फिल्मलाई वार्मअपका लागि भए पनि रिलिज गर्नेछौं ।’

मुलुकको मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले आउने सातादेखि फिल्म हल खोल्ने तयारी गरेको छ । क्यूएफएक्स निर्देशक नकिम उद्दिनले हल मेन्टिनेन्स र सरसफाइपछि मात्र सम्भवतः मंगलबार तथा बुधबारदेखि हल खुला गरिने बताए । उद्दिन प्रमुख रहेको विदेशी फिल्म वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले हलिउडको प्रतिक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ (एफ-नाइन) लाई रिलिज गर्ने तयारी गरेको छ ।

फास्ट एन्ड फ्युरियससहित अन्य फिल्मको पाइपलाइन घोषणा गर्ने तयारीमा एप्पल छ । केही दिनमै एप्पलले अर्को सातादेखि दशैंसम्म रिलिज हुने फिल्मको सूची तयार पार्नेछ । अर्को फिल्म वितरक कम्पनी बैंकटेस इन्टरटेनमेन्टले पनि रिलिजको बारेमा तयारी गर्ने भएको छ । कम्पनीका निर्देशक मनोज राठीका अनुसार यसअघि रिलिज भएको सलमान खान स्टारर ‘राधे’ लाई पुनः रिलिज गरिने भएको छ । राधे प्रदर्शन हुँदै गर्दा निषेधाज्ञा सुरु भएपछि यसले पूर्णरुपमा प्रदर्शनको मौका पाएको थिएन । ‘अर्को सातासम्म हाम्रो तर्फबाट रिलिज हुने फिल्मको सूची तयार हुन्छ’ उनले भने ।

कोरोना महामारीको कारण रोकिएका ६० भन्दा बढी फिल्म प्रदर्शनको पर्खाइमा छन् भने तीन दर्जन फिल्म सुटिङमा जाने तयारीमा छन् । २० वटा भन्दा बढी फिल्मको छायांकन निषेधाज्ञाले बीचमै रोकिएको छ । नाम चलेका कलाकार र सेलेव्रिटीले वैकल्पिक पेशा व्यवसाय थालेका छन् ।

अर्का वितरक करण श्रेष्ठ क्रेजीसँग ६ वटा फिल्म पाइपलाइनमा छन् । जसमध्ये म यस्तो गीत गाउँछु २, चिसो मान्छे, तीन जन्तु, माइकल अधिकारी, चिसो एस्ट्रे र सुस्केरा हुन् । उनी आगामी दशैंमा यीमध्ये कुनै एक फिल्मलाई रिलिज गर्ने तयारीमा छन् । ‘हल खुल्ने वित्तिकै रिलिज गर्ने फिल्मबारे सोचिसकेको छैन । निर्मातासँग छलफलपछि मात्र यसबारे टुंगो लाग्छ’ वितरक श्रेष्ठले भने ।

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले काठमाडौं उपत्यकासहित बाहिरका फिल्म हललाई पनि खुलाउन सरकारलाई आग्रह गरिएको बताए । ‘काठमाडौंभन्दा बाहिरका ठाउँमा पनि अब संचालन अनुमति दिनुपर्छ भन्ने हाम्रो भनाई हो’ दाहालले भने, ‘सोहीअनुुसार हामीले खुलाउन पहल गरेका छौं ।’

क्रमशः दशैंसम्म माहौल बन्ने र त्यसले केही हदसम्म भएपनि उद्योगलाई आर्थिकरुपमा चलायमान बनाउने आशा दाहालले व्यक्त गरे । फिल्महरु रिलिज हुने भएपछि राजस्व पनि संकलन हुने भएकाले बोर्डलाई सजिलो हुने छ ।

नेपाली फिल्मको ७० प्रतिशत व्यापार हिस्सा काठमाडौंले ओगट्छ । पछिल्लो समय पोखरा, चितवनजस्ता सहर पनि ठूला फिल्म बजार हुन् । चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार काठमाडौंबाहेक उपत्यकाबाहिरका पोखरा, नारायणगढ, धरानजस्ता ठूला फिल्म बजारलाई खुलाउन स्थानीय प्र्रशासनलाई दबाब दिने तयारी भएको छ ।

‘कम्तीमा काठमाडौंसहित मोफसलका एकाध बजार खुले भने हामीलाई माहौल बनाउन खासै कठिन हुँदैन’ शर्माले भने, ‘दशैंसम्म हामीलाई त्यो पर्याप्त समय छ र हामी त्यहाँका सीडीओहरुलाई आवश्यक दबाब पनि दिन्छौं ।’

कोरोना महामारीको कारण रोकिएका ६० भन्दा बढी फिल्म प्रदर्शनको पर्खाइमा छन् भने तीन दर्जन फिल्म सुटिङमा जाने तयारीमा छन् । २० वटा भन्दा बढी फिल्मको छायांकन निषेधाज्ञाले बीचमै रोकिएको छ । नाम चलेका कलाकार र सेलेव्रिटीले वैकल्पिक पेशा व्यवसाय थालेका छन् । मुख्य क्षति फिल्म प्राविधिकलाई भएको छ उठ्नै नसक्ने गरी थलिएका छन् र चलचित्र प्राविधिक संघले फिल्म हल खुलाउने प्रशासनको निर्णयलाई स्वागतयोग्य बताएको छ ।

संघका अध्यक्ष पुष्कर लामाले हल खुलाउने निर्णयले केही राहतको श्वास फेरेको बताए । ‘अब फिल्म हल खुल्नु र फिल्महरु छायांकनमा जानुले प्राविधिकलाई राहत मिल्नेछ’ लामाले भने, ‘कोरोनाको तेस्रो लहर नआए आगामी चाडपर्वसम्म फिल्मको माहौल बनाउने तयारी गर्नेछौं ।’

सानो लगानीका फिल्महरु दशैं, तिहार छठ चाडमा फिल्म रिलिज गर्ने तयारी भएपनि बिग बजेटका फिल्महरु भने तत्काल रिलिज नहुने सम्भावना छ । यो सबै भाइरसको तेस्रो लहरसँग निर्भर देखिन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल दोस्रो लहरको संक्रमण दरमा गिरावट आएको कारण निषेधाज्ञा खुकुलो भएपनि जोखिम भने नटरेको बताउँछन् ।

हल खुलाउने खबरले जति फिल्मकर्मी उत्साहित छन् उति नै तेस्रो लहर आउने सरकारी प्रक्षेपणले चिन्तित पनि । स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि तेस्रो लहर आउने सक्ने मिति नै तोकेको अवस्था छ । भारतमा अक्टोबरमा तेस्रो लहर उत्कर्षमा पुग्ने बताइएको छ । कोरोनाको यो ग्राफको कारण कतिपय निर्माताहरु ठूलो लगानीका फिल्मलाई तत्काल रिलिज गर्ने मुडमा छैनन् । ४ करोड रुपैयाँ फसाएर बसेको प्रेमगीत ३ होस् र सुदर्शन थापाको म यस्तो गीत गाउँछु २ जुन फिल्मका निर्माता अझै पनि पर्ख र हेरको मनस्थितिमा छन् ।

‘हामी अझै पनि पर्ख र हेरको मनस्थितिमा छौं’ प्रेमगीत निर्माता सन्तोष सेनले नेपाल प्रेससँग भने, ‘फिल्म बनाउन ४ करोड खर्च भएको अवस्था छ र कहिले रिलिज गर्ने भन्नेमा हामी परिस्थितिलाई हेरिरहेका छौं ।’

सानो लगानीका फिल्महरु दशैं, तिहार छठ चाडमा फिल्म रिलिज गर्ने तयारी भएपनि बिग बजेटका फिल्महरु भने तत्काल रिलिज नहुने सम्भावना छ । यो सबै भाइरसको तेस्रो लहरसँग निर्भर देखिन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल दोस्रो लहरको संक्रमण दरमा गिरावट आएको कारण निषेधाज्ञा खुकुलो भएपनि जोखिम भने नटरेको बताउँछन् ।

‘अझै पनि २० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमण छ । यसमा पनि डेल्टा भेरिएन्ट मिसिएको छ’ प्रवक्ता पौडेल भन्छन्, ‘निषेधाज्ञा खुकुलो हुनुको अर्थ जनस्वास्थ्यका मापदण्डलाई बिर्सने होइन । अझै सतर्क भएर तेस्रो लहर आउन नदिनेतर्फ अघि बढ्नुपबर्छ ।’

छिमेकी मुलुक भारतमा अहिले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल संचालनको अनुमति दिइएको थियोे । नेपालमा पनि बिहीबारदेखि ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउन ससर्त अनुमति दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर