नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज, टिकटसँगै खोपकार्ड देखाएर मात्र रंगशाला प्रवेश – Nepal Press

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज, टिकटसँगै खोपकार्ड देखाएर मात्र रंगशाला प्रवेश

काठमाडाैं । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आज हुँदैछ । दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा रहेको भारतीय टोलीले आज साँझ साढे ५ बजे दशरथ रंशालामा नेपाली टोलीसँग खेल्न लागेको हो ।

साफ कपको तयारीमा रहेका दुवै टोलीका कप्तान तथा प्रशिक्षकहरुले हिजोको पत्रकार सम्मेलनमा आआफ्नो टिमको जितका आधार तथा आवश्यकताबारे बताएका थिए ।

भारतले पहिलोपल्ट नेपाली भूमीमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपालले भारतसँग सन् २०१७ मा मुम्बईमा खेलेको थियो । सो खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

कोरोना महामारी साम्य हुँदै जाँदा पहिलोपल्ट आयोजना गरिएको ठूलो अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशालाको क्षमताको एक तिहाईमात्र दर्शंकलाई प्रवेशको अनुमती दिइने भएको छ ।

दशरथ रंगशालाको पूर्ण क्षमता १५ हजार ४ सय ६४ को एक तिहाई अर्थात् ५ हजार १ सय टिकट बेन्च पाउने गरी एन्फाले खेलकुद मन्त्रालयबाट अनुमति पाएको छ । प्रभु पे मार्फत टिकट खरिद गर्न सकिने तथा टिकट मूल्य साधारणतर्फ १ हजार र भीआईपीतर्फ २ हजार निर्धारण गरिएको छ ।

रंगशालामा खेल हेर्न जाने दर्शकले टिकटका अतिरिक्त कोरोना खोपको पूर्ण मात्रा लगाइसकेको कागजात वा पछिल्लो २४ घण्टाको पीसीआर रिपोर्ट देखाउनुपर्नेछ ।

नेपाल र भारतले अहिलेसम्म १९ पल्ट खेलेका छन् । जसमा १३ पल्ट भारत विजयी भएको छ । सन् २०१३ को साफ च्याम्पियनसिपमा दशरथ रंगशालामै नेपालले भारतविरुद्ध पहिलो र एकमात्र जित हासिल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर