के छ चिडियाखानामा जनावरको अवस्था ? (भिडियो) – Nepal Press

के छ चिडियाखानामा जनावरको अवस्था ? (भिडियो)

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खद्यान्नको व्यवस्थापन गर्न धौ–धौ परेको छ ।

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताइन् ।

उनले २०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइएपनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शुन्य बराबर रहेको बताइन् । उनले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमीक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न सहयोग गरेको बताइन् ।

सूचना अधिकृत चालिसेले भनिन्, ‘हाम्रो आम्दानी आदि जस्तै घटेको छ, पहिलो लहरमा १० महिना बन्द गर्यौं । दोस्रो लहरमा साढे २ महिना बन्द गर्यौं । आर्थिक स्थिती खासै राम्रो छैन, तर यसलाई मितव्ययी तरिकाले चलाउन प्रयास गरिरहेका छौँ । हामीले २०१५ को भूकम्पपछि हामीले भौतिक पूर्वाधारमा धेरै जोड दिएका छौँ। पर्खाल, संरचना, यसमा भूकम्प अर्को गयो भने पनि केही नोक्शान नहुने, ज्यानलाई खतरा नहोस्, किनभने यो एकदम संवेदनशील ठाउँ छ । हिंस्रक जनावरहरु छन् । त्यसमाथि पनि दर्शकहरुको भीड हुने गर्छ । तर पछिल्लो पटक भौतिक संरचना शुन्य बराबर छ, यो संवेदनशील स्थान भएकोले रिपेयरमेन्टेनेन्सहरुमा खर्च गर्छौं, हामीले गत सालको लकडाउनमा त कर्मचारीहरुको आधा स्यालरी काटेर विथआउट फ्यासालिटीमा काम गरेका हौँ, त्यसले कतिपय डेलिभरीका साथीहरुलाई गुमायौँ, पहिला ७५ जना कर्मचारी रहेकोमा अहिले ५६ जना मात्रै कर्मचारीले काम गरिरहेका छौँ ।’

उनले साउन १ गतेदेखि सर्वसाधारणका लागि सञ्चालन गरेपनि चिडियाखाना भित्र पूर्ण रुपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्यका मापदण्डहरु पालना गराइएको बताइन् ।

उनले मानिसदेखि जनावर र जनावरबाट मानिसमा सर्ने रोगहरुलाई रोक्नको लागि अन्तर्राष्ट्रिय स्तरका चिडियाघरहरुमा पालना गरिएका र लागू गरिएका नियमहरु पालना गरेर मात्रै चिडियाघरमा सर्वसाधारणहरुलाई प्रवेश गराइएको जानकारी दिइन् ।

सूचना अधिकृत चालिसेका अनुसार चिडियाघरको टिकट काउन्टरमा हुने भीड कम गर्न ईसेवाबाटै टिकट काट्ने व्यवस्था मिलाएको र भित्र प्रवेश गराउँदा पनि चिडियाघरबाट बाहिरिनेको अनुपातमै प्रवेश गराउने गरेकोले भीड नियन्त्रण भएको छ ।

त्यस्तै अवलोकन गर्न पुगेकाहरुबाट जनावरहरुलाई कुनै रोग नसरोस् भन्ने हेतुले चिडियाघरलाई ४ भागमा बाँडेर हरेक भागमा ५÷५जना कर्मचारी खटाइएको र अवलोकन कर्ताले सामाजिक दूरी कायम गरेको छ÷छैन, जनावरलाई खानेकुरा दिएको÷नदिएको लगायतका कुराहरुमा ध्यान दिने गरेको सूचना अधिकृत चालिसेले बताइन् ।

कोरोना महामारीको यो बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै सम्झौता नगरेको बताउँदै उहाँले जनावहरुलाई अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै खाद्यान्न दिइरहेको बताइन् । उनले विगतमा वार्षिक रुपमा चिडियाखानाको राम्रो दिनहरुमा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको बताइन् । तर अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी नभएको उनको भनाइ छ ।

उनले भने,‘कोरोना महामारीका बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै क्मपरमाइज गरेको छैन, अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै फूडहरु ख्वाइरहेका छौँ, विगतमा राम्रा दिनहरुमा हाम्रो आम्दानी १४ करोडसम्म हुन्थ्यो, त्यसमा जनावरलाई ख्वाउनका लागि ४ करोड खर्च हुन्छ, वार्षिक रुपमा । तर अहिले भने ८ करोडको हाराहारीमा मात्रै आम्दानी हुने गरेको छ, यो भनेको चिडियाखानामा विगतका वर्षहरुको भन्दा आधा घटेको छ ।’

अहिले चिडियाखानामा ३६ जना सदस्यहरुले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरिरहेको र यसरी सहयोग गरे चिडियाखानाका जनावहरुलाई खाद्यान्नको अभाव नहुने सूचना अधिकारी चालिसेले बताए । चिडियाखाना स्तनधारी ३६ प्रजातीका २९९, सरिसृप १० प्रजातीका ४८, मत्स्य १५ प्रजातीका ४१, पंक्षी ५२ प्रजातीका ६०९ वटा गरी ११३ प्रजातीका ९९७ वटा वन्यजन्तु रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर