काबुलमा छुटेका ३४ नेपालीलाई राष्ट्रसंघको चार्टर्ड जहाजले काठमाडौं ल्याइदिने – Nepal Press

काबुलमा छुटेका ३४ नेपालीलाई राष्ट्रसंघको चार्टर्ड जहाजले काठमाडौं ल्याइदिने

राष्ट्रसंघको काबुल कार्यालयमै राखियो नेपालीलाई

काठमाडौं । तालिबानले काबुल एयरपोर्ट कब्जा गरेपछि पनि अफगानिस्तानमा ३४ जना नेपाली छुटेका छन् । उनीहरुलाई अहिले राष्ट्रसंघको काबुलस्थित कार्यालय परिसरमा राखिएको दिल्ली नियोगले जनाएको छ ।

दिल्ली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार छुटेका ती नेपाली अहिले सुरक्षित रहेको र अर्को साता राष्ट्रसंघकै चार्टर्ड जहाजले काठमाडौंमा ल्याइदिने भएको छ ।

‘राष्ट्रसंघको चार्टर्ड जहाजले अर्को साता काठमाडौंमा लैजाने कुरा भएको छ र हामीले कोभिड परीक्षण लगायतका प्रोटोकलको तयारी गरेका छौं’ सुवेदीले नेपाल प्रेससँग भने ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालले पनि जतिसक्दो चाँडो ती नेपालीलाई काठमाडौं ल्याउन पहल भैरहेको बताइन् । ‘उहाँहरु सुरक्षित ठाउँमा हुनुहुन्छ र हामीले अन्तर्राष्ट्रिय नियोगसँग समन्वय गरिरहेका छौं’ लम्सालले भनिन् ।

उनका अनुसार अहिले पनि काबुलस्थित राष्ट्रसंघीय नियोगहरुमा ४७० जना नेपाली कार्यरत छन् र उनीहरु सुरक्षित छन् । अहिलेसम्म ८२८ जना नेपाली स्वदेश फर्किइसकेका छन् ।

अमेरिका लगायत नेटो सैनिकहरु अगस्ट ३१ को समयसीमाभित्रै काबुलबाट फकिइसकेका छन् । काबुलमा छुटेका आफ्ना नागरिकलाई उद्धार गर्नेबारे बेलायत र जर्मनी लगायतका मुलुकले तालिबानसँग वार्ता गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर