सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा, अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप – Nepal Press

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा, अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज फेरि चढेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । नियमित पेसीमा चढे पनि धेरै मुद्दाहरु त्यसभन्दा माथि रहेकाले आज सुनुवाइ हुने वा नहुने निश्चित छैन ।

यसअघि पटक-पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनुवाइ भने हुन सकेको छैन । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो ।

अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन्।

लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्। ।

सापकोटालाई झलनाथ खनाल प्रधानमन्त्री भएको बेला सन्चारमन्त्री नियुक्त गरिएपछि गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै सर्वोच्चमा अर्को रिट पनि परेको थियो ।

शुशिल प्याकुरेल, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं लगायतले दायर गरेको मुद्दामा गम्भीर कसुरको आरोपलागेका व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्त गर्न नहुने वा पदमा भएकालाई समेत पदबाट निलम्बित गरेर मात्र अनुसन्धानअघि बढाउनु पर्ने माग गरिएको छ।
त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदातलको अवहेलना मुद्दा दायर गरेका थिए ।

याे पनि पढ्नुहाेस्
के छ सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा ? (पूर्ण पाठसहित)

उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए।

सपना प्रधान मल्लको त्यो फैसला

सापकोटालाई सभामुख नबनाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए । तर, त्यसमा फैसला हुनुअघि नै उनी सभामुख निर्वाचित भए ।

सापकोटा सभामुख भइसकेपछि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले अभियोग लागेको व्यक्तिलाई दोषी प्रमाणित नभएसम्म कसुरदार नमानिने भन्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको थियो ।

यद्यपि अदालतले हत्या अभियोग लागेको व्यक्तिले हाल उठेका नैतिक प्रश्न र सभामुख अनि संवैधानिक परिषद्को सदस्यको जिम्मेवारी सम्हाल्दा उठ्न सक्ने स्वार्थको द्वन्द्व सापकोटा स्वयंको विवेकबाट निर्देशित हुने उल्लेख गरेको थियो ।

सापकोटाले भने सो मुद्दा द्वन्द्वकालको भएकाले यसलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हेरिनुपर्ने जिकिर गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय चासो

सापकोटाविरुद्धको मुद्दामा निरन्तरको अन्तर्राष्ट्रिय चासो छ। वनमन्त्री हुनेबित्तिकै उनी सहभागी एक कार्यक्रम पश्चिमा राजदूतहरुले बहिष्कार गरेका थिए । सन् २०१० मा अस्ट्रेलिया र अमेरिकाले सापकोटाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघन आरोपको कारण देखाउँदै भिसा दिन अस्वीकार गरेका थिए।

सभामुखमा उनको चयनप्रति असन्तुष्टि जनाउँदै इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति निकालेका थिए। द्वन्द्वकालीन मुद्दाबारे अन्तर्राष्ट्रिय मञ्चमा जनाएका प्रतिबद्धताप्रति सरकार प्रतिबद्ध हुनुपर्ने भन्दै उनीहरूले ध्यानाकर्षण गराएका थिए ।

सापकोटा २०६८ वैशाखमा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्ति हुँदा पनि विरोध भएको थियो। संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयुक्तको कार्यालयले सभामुख चयनप्रति चासो व्यक्त गर्दै विज्ञप्ति जारी गरेको थियो।

कुनै पनि उच्च सार्वजनिक पदमा नियुक्त गर्नुपूर्व सम्बन्धित व्यक्तिउपर परेका उजुरीहरूको पूर्ण अनुसन्धान प्रकृयाबाट उक्त व्यक्ति पूर्णत: दोषमुक्त प्रमाणित गर्ने जिम्मेवारी राज्यको हुने उच्च आयुक्त कार्यालयको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा, अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप

  1. तर आजै यो मुद्दा हेर्न नमिल्ने मा राखे रे King maker चोलेन्द्र राणाले। कारण चाहि साँप् कोटालाइ कठघर मा ल्याउदा प्रचन्डे को राजनितिक भबिस्य डाण्गाडोल हुने भयेको ले हेर्न नमिल्ने भने जस्तो छ। चोलेन्द्र ले कारण त जे पनि दिन सक्छन् किन कि उनि सुपृम कमान्डर् हुन सडक् मान्हिडिरहेको जो कोइ लाइ भोलि बिहान् दश् बजे बाट लागु हुनेगरि प्रधान मन्तृ बनाउन सक्ने तागत् छ् राणा संग। जन्म कैद पायेको DSP लाइ उस्को २२ बर्षे छोरो अबिभाबक् बिहिन भो भनेर् सफाइ दिन सक्ने ले सिधै अग्नि सापकोटा लाइ सफाइ दिन किन नसक्नु। “जङेले जे बोल्यो त्यहि कानुन” हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर