अपाङ्गता आन्दोलन अधिकार प्राप्तिको युगमा प्रवेश गरेको छ : उपाध्यक्ष दहाल – Nepal Press

अपाङ्गता आन्दोलन अधिकार प्राप्तिको युगमा प्रवेश गरेको छ : उपाध्यक्ष दहाल

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले नेपालको अपाङ्गता आन्दोलन अन्धविश्वासलाई चिरेर अधिकारको युगमा प्रवेश गरेको बताएकी छन् । राष्ट्रिय अपाङ्ग महासंघले २८ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उपाध्यक्ष दहालले अन्धविश्वासको त्यो समयदेखि आजसम्म अपाङ्गता अधिकारका लागि निरन्तर खटिएका अधिकारकर्मीलाई धन्यवाद दिंदै यो सफलताका लागि बधाई समेत दिएकी छन् । उनले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि बनेका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन ।

दहालले भनिन्, ‘कुनै समय थियो, कुनै परिवारमा अपाङ्गता भएका व्यक्ति जन्मियो भने उसका बाबु आमाले गरेको पापको नतिजाको रुपमा व्याख्या गरिन्थ्यो । त्यो परिवारलाई नै हेलाको दृष्टिले हेरिन्थ्यो । तर, अहिले समय त्यस्तो छैन् । अहिले हामी अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा बहस गरिरहेका छौं ।’

अपाङ्गता भएका व्यक्तिको हकहितलाई मध्यनजर गर्दै विभिन्न समयमा थुप्रै राम्रा कानून निर्माण भएको भन्दै उनले बनेका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन सके अपाङ्गता भएका व्यक्तिका धेरै समस्या समाधान हुने बताईन । आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपाध्यक्ष दहालले अपाङ्गमैत्री कानून निर्माण र त्यसको कार्यान्वयनका लागि आफूले सधैं पहल गर्ने प्रतिबद्वता समेत जनाएकी छन् ।

अपाङ्गता भएका नागरिकका सवाल सबैको साझा सवाल भएको भन्दै उनले हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट आवाज उठाउनुपर्नेमा जोड दिदै भनिन्, ‘अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको समस्या, संकुचित भएको उनीहरूको अधिकार र आधारभूत सेवा सुविधा सबैको सवाल हो । अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि संसदले अझै परिष्कृत कानून निर्माण गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

अपाङ्गता भएका व्यक्तिले अझै पनि शारीरिक र मानसिक रुपमा विभिन्न खालका हिंसा सहनुपरेको खबर सुन्दा दुःख लाग्ने भन्दै उनले परिवारबाटै यस्ता व्यक्तिको स्याहार र सम्मानमा विशेष ख्याल गर्न आग्रह गरिन् । महामारीको समयमा अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्तिले भन्दा बढी हिंसा र समस्या भोग्नु परेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएकी छन् ।

उपाध्यक्ष दहालले महासंघले प्रकाशन गरेको दुईवटा पुस्तक (अपाङ्गता समावेशी स्थानीय विकास सहजीकरण पुस्तिका र क्षमता विकास सम्बन्धी तालिम सहजीकरण पुस्तिका) सार्वजनिक गरेकी छन् ।

यसैबीच स्थापना दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघले पूर्वअध्यक्षलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा डा. वीरेन्द्रराज पोखरेल, दीपक कोइराला, निर्वतमान अध्यक्ष सुदर्शन सुवेदी, संस्थापक अध्यक्ष निर्मल देवकोटाका पत्नी लक्ष्मी देवकोटा, पूर्वअध्यक्ष सुशीला पौडेल, पूर्वअध्यक्ष स्वर्गीय मुनिश्वर पाण्डेकी पत्नी निर्मला धिताल लगायत सम्मानित भएका छन् ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, निर्वतमान अध्यक्ष सुदर्शन सुवेदी, महासंघका लगायतले आफ्नो बिचार राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर