दार्चुला तुइन घटनामा भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिको निष्कर्ष – Nepal Press

दार्चुला तुइन घटनामा भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । दार्चुलाको घटना छानबिन गर्न गठित समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् । यस सम्बन्धी संक्षिप्त जानकारीसहितको विवरण गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । २०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षका जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको खोजी कार्य लामो समयसम्म जारी रहे पनि अहिलेसम्म फेला परेका छैनन् । तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका स्थानीयले बताउदैँ आएका थिए ।

यसैविच गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्ध जनाएका छन् । कार्यान्वयनका लागि  प्रक्रिया अघि बढाउन गृहसचिव टेकनारायण पाण्डेलाई उनले निर्देशन दिएका जनाइएको छ । प्रतिवेदन आगामी दिनका लागि मार्गदर्शक बन्नेमा आफू आशावादी रहेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *