तीन पदक लिएर युएईबाट फर्कियो नेपाली बक्सिङ टोली – Nepal Press

तीन पदक लिएर युएईबाट फर्कियो नेपाली बक्सिङ टोली

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ नेपाली बक्सिङ टोली मंगलबार काठमाडौं फर्किएको छ । अगष्ट २० देखि ३१ सम्म युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोली सहभागी थिए ।

६ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा तिन खेलाडी पदकसहित नेपाल फर्किएका हुन् । महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कांस्य जिते । पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कांस्य जितेका थिए । कांस्य विजेता तिनै खेलाडीले १ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेका छन् ।

छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ संघ र गुरुहरुको सहयोगका कारण सफलता प्राप्त भएको बताए । उनले यो सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको भन्दै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताए । घरेलु प्रतियोगितामा छिरिङ चाबहिलाको बक्समान्डुबाट खेल्ने गर्छन् । यो उनको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएको प्रशिक्षक दीपक महर्जनले जानकारी दिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर