भोलिदेखि काठमाडौंको फोहोर उठाइने, अवरोध भए बल प्रयोग – Nepal Press

भोलिदेखि काठमाडौंको फोहोर उठाइने, अवरोध भए बल प्रयोग

काठमाडौँ । काठमाडौँ महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलिदेखि उठाइने भएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘स्थानीयका हामीले गर्न सक्ने समस्या भए हामी समाधान गर्छौ । हामीले समाधान गर्न नसक्ने समस्या भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौ । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’

उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि बताए । ‘सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ । त्यसको सबै जिम्मेवारी सहरी विकास मन्त्रालयको हो । काठमाडौँ महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भने ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भइ फोहोर उठाउने निर्णय भएको जानकारी दिए ।

‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उनले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ ।’

पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर