मन्त्री बनाउन एकीकृत समाजवादीका तीन मापदण्ड, नयाँलाई पनि प्राथमिकता दिने – Nepal Press

मन्त्री बनाउन एकीकृत समाजवादीका तीन मापदण्ड, नयाँलाई पनि प्राथमिकता दिने

काठमाडौं। नवगठित नेकपा (एकीकृत समाजवादी)ले निश्चित मापदण्डका आधारमा मन्त्रिपरिषद्मा पठाउने भएको छ। त्यसका लागि मुख्य गरि तीन मापदण्ड बनाइएको नेता बेदुराम भुसालले जानकारी दिए।

उनका अनुसार भुगोल, समावेशिता र नयाँ पुराना पुस्ताहरुबीच सन्तुलन मिलाएर मन्त्री छानिने छ। एकै तिरको मात्रै नहोस् भनेर पूर्व-पश्चिम सबै भुगोलको समेट्ने उनको भनाइ छ। समावेशितालाई पनि ख्याल गरिने र नयाँ पुस्तालाई पनि प्राथमिकता दिने भुसालको भनाइ छ।

‘नयाँ र पुराना साथीहरुलाई पनि मिलाउनु पर्‍यो,’ उनले नेपाल प्रेससँग भने, ‘धेरै पटक सांसद भइसकेको तर मन्त्री हुन नपाउनु भएको साथीहरु हुनुहुन्छ । कतिपय साथीहरु नयाँ पनि हुन्छ, जो पहिलोचोटी सांसद हुनु भएको छ । त्यस्तोमा सन्तुलन मिलाउने भन्ने छ।’

मन्त्रिपरिषद् विस्तारबारे आज सत्तारुढ गठबन्धनका नेताहरुबीच बालुवटारमा छलफल भएको थियो । बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने बताइएको छ। भुसालले अझैं आफूहरुले पाउने मन्त्रालय र मन्त्रीको संख्या टुंगिइ नसकेको जानकारी दिए । त्यही कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनको भनाइ छ।

राजधानीमा आयोजित आजकै एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि फेरि बसेर यसलाई ठोस रुप दिइने बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर