राप्ती अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सिंहलाई दुर्व्यवहार गर्ने पक्राउ – Nepal Press

राप्ती अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सिंहलाई दुर्व्यवहार गर्ने पक्राउ

रुपन्देही । राप्ती प्रादेशिक अस्पताल दाङ तुलसीपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेले डा. सिंहलाई दुर्व्यवहार गर्ने मुख्य व्यक्तिलाई सोमबार बिहान पक्राउ गरिएको जानकारी दिएका छन् ।

पक्राउ परेकाको नाम ठेगाना पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने र घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको एसपी काफ्लेले बताए ।

यसैबीच राप्ती प्रादेशिक अस्पतालको आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य सेवा आज चौथो दिन पनि ठप्प रहेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टमाथि दुव्र्यवहार भएपछि दोषीहरूलाई कानुनी दायरामा नल्याउँदासम्म अस्पतालको सेवा ठप्प पार्ने आन्दोलनरत चिकित्सकको भनाइ छ ।

दाङका २० बढी स्वास्थ्य संस्थाले संयुक्त विज्ञप्ति निकालेर आकस्मिकबाहेकका सेवालाई ठप्प पारेका छन् । जिल्लाका स्वास्थ्यकर्मी र चिकित्सकले डाक्टर विनोद सिंहलाई दुव्र्यवहार गर्नेलाई छिटो भन्दा छिटो कानुनअनुसारको कारबाही गर्न माग गर्दै स्वास्थ्यकर्मी र चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

अस्पतालमा अहिले आकस्मिक, डायलासिस र सुत्केरी सेवाबाहेक अन्य सेवा ठप्प रहेको छ । स्वास्थ्य सेवा प्रभावित हुँदा दैनिक उपचारका लागि आउने बिरामीलाई समस्या भएको छ ।

अस्पतालको सेवा प्रभावित भएपछि उपचारका लागि आउने बिरामीहरू निजी मेडिकलमा उपचारका लागि जान बाध्य भएका छन् । चिकित्सकहरूले गएको शुक्रबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताको नाम जोडिएपछि जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले गलत क्रियाकलापमा नाम जोडिएका व्यक्तिलाई पार्टीले तत्काल कारबाही गरिसकेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर