चुरेकाे पहिरो र बाढीले बुटवलमा दर्जनौं परिवार विस्थापित – Nepal Press

चुरेकाे पहिरो र बाढीले बुटवलमा दर्जनौं परिवार विस्थापित

चुरेको पहिरोले मुख्य बजार प्रभावित

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४ वटा वडा चुरेको पहिरो र तिनाउको बाढीले प्रभावित भएका छन् । मुख्यबजारको उत्तरी क्षेत्रमा गएको ढुंगासहितको लेदो पहिरोेले सोमबार थप सात वटा घर पुरिएका छन् भने दुई दर्जनभनदा बढी घर विस्थापित भएका छन् ।

आइतवार बिहानदेखि उपमहानगरपालिको वडा नं. ३ ज्योतिनगरमाथिको चुरे पहाडबाट खसेको पहिरो सोमबार दिउँसोसम्म रोकिएको छैन । आइतवार स्थानीय मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो झरेकोमा सोमबार थप सातजनाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुंवरका अनुसार सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् ।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

बुटवल तथा आसपासको क्षेत्रमा अहिले पनि पानी परिरहेकोले पहिरा सहितको लेदो बगिरहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले स्थानीयको सहयोगमा पहिरोबाट प्रभावितहरुलाई उद्दार गरी बुटवल बहुमुखी क्याम्पसमा आश्रय दिएर राखेका छन् ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक कुंवरले बताए । बस्तीमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको कुंवरले जानकारी दिए । २०५५ साल भदौ २० गते पहिरो झरेको स्थानमै पुनः अहिले पहिरो झरेको हो ।

 

०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो । बुटवलको ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ । ज्योतिनगरमा आएको लेदोसहितको पहिरो बुटवल अस्पताललाइनसम्म आएको हो । पहिरो सोमबार पनि आइरहेको छ । वर्षासंगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन् ।

स्थानीय सामान लिएर सुरक्षित स्थानतर्फ सरिरहेका छन् । पहिरोले मुख्य बजार प्रभावित हुन थालेको छ । यसैगरी तिनाउ नदीमा आएको बाढीले सोमबार पनि थप आधा दर्जन घरमा क्षति पुराएको बुटवल वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । प्रभावित क्षेत्रका नागरिकलाई स्थानीय विद्यालयमा राखिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *