सत्तापक्षको नेताको हैसियत गुमेको ६ महिनासम्म पनि सुविधाको गाडी दिनानाथसँगै – Nepal Press

सत्तापक्षको नेताको हैसियत गुमेको ६ महिनासम्म पनि सुविधाको गाडी दिनानाथसँगै

काठमाडौं । राष्ट्रियसभामा सत्तापक्षको नेता को ? प्रधानमन्त्रीले तोकेको व्यक्ति नै सत्तापक्षको दलको नेता हुने व्यवस्था छ ।
असार २३ गतेको निर्णय अनुसार तत्कालीन विपक्षी गठबन्धनको तर्फबाट राष्ट्रियसभामा विपक्षी दलका नेता बनेका थिए कांग्रेस सांसद राधेश्याम अधिकारी ।

संघीय संसद सचिवालयको रेकर्डमा सत्तापक्षको नेता अधिकारी हुन् भने मुख्य सचेतक अनिता देवकोटा । यद्यपि राष्ट्रियसभामा सत्तापक्षकै पनि कांग्रेस तेस्रो दल हुँदैछ ।

राष्ट्रियसभामा सत्तापक्षीय माओवादी केन्द्रका १४ सांसद छन् भने एमालेबाट विभाजित एकीकृत समाजवादीका ७ सांसदले दल विभाजनमा सनाखत गरिसकेका छन् ।

कलम चिन्हबाट निर्वाचित स्वतन्त्र सांसद खिमलाल देवकोटा एकीकृत समाजवादीमा समाहित हुने निश्चित छ भने वामदेव गौतमले पनि एमालेबाट राजीनामा दिएर एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी छ ।

अहिले कांग्रेस र एकीकृत समाजवादी बराबरी रहे पनि देवकोटामात्र थपिदा पनि समाजवादी राष्ट्रियसभामा तेस्रो ठूलो दल हुनेछ भने कांग्रेस चौथोमा झर्नेछ ।

तर, राष्ट्रियसभामा सत्तापक्षको नेता प्रधानमन्त्रीले तोकेको व्यक्ति हुने भएकाले कुन दलमा कति सांसद छन् भन्ने नहेरिने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए ।

राष्ट्रियसभामा सत्तापक्षका नेता र मुख्य सचेतक तथा प्रमुख विपक्षी दलका नेता र प्रमुख सचेतकलाई संसद सचिवालयले गाडी सुविधा उपलब्ध गराउँछ । अहिले सत्तापक्षको नेताका हैसियतमा राधेश्याम र मुख्य सचेतक अनिताले गाडी सुविधा पाएका छन् ।

विपक्षी दलका नेता सुमन प्याकुरेल र प्रमुख सचेतक खिमलाल भट्टराईले पनि गाडी सुविधा पाएका छन् । तर, माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले फागुन २३ अघिको सत्तापक्षको नेताको हैसियतमा पाएको गाडी फिर्ता नगरेपछि संसदको सवारी शाखाका कर्मचारी हैरानीमा परेका छन् ।

तत्कालीन नेकपाको संसदीय दलको नेता केपी शर्मा ओलीले राष्ट्रियसभामा सत्तापक्षको नेता शर्मालाई तोकेका थिए । उनले त्यसबेला सत्तापक्षको नेताको हैसियतमा स्कोरपियो गाडी पाएका थिए ।

फागुन २३ गतेको फैसलाले नेकपा एमाले र माओवादी ब्युँतिएपछि शर्मा माओवादी संसदीय दलको नेता बने । सचिवालयले उनीसँग गाडी फिर्ता मागे पनि ६ महिनादेखि फिर्ता नगरेको सवारी महाशाखाले जनाएको छ ।

सचिवालयका एक अधिकारीले भने, ‘संसद सचिवालयमा एकातिर गाडी अभाव छन् । समितिका सभापति र संसदका पदाधिकारीहरूलाई गाडी पुर्‍याउन सकिएको छैन । कतिपय पदाधिकारीले स्कोरपियो मागेका छन् तर माननीय दिनानाथले पदीय हैसियत गएको ६ महिना पुग्दा पनि गाडी फिर्ता गर्नुभएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर