उपेन्द्रको आरोप- केपी ओली महेन्द्रपथमा, महन्थ-राजेन्द्र ओलीको मतियार – Nepal Press

उपेन्द्रको आरोप- केपी ओली महेन्द्रपथमा, महन्थ-राजेन्द्र ओलीको मतियार

वीरगञ्ज । जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन छाडेर अहिले मधेश दौडाहामा छन् । शनिवार वीरगन्ज पुगेका यादवले महन्थ ठाकुर र राजेन्द्र महतो केपी ओलीका मतियार भएको आरोप लगाए ।

यादवले ओलीले गर्न खोजेको कू मा ठाकुर र महतोले साथ दिएको भन्दै उनीहरु मधेशविरोधी प्रतिगामी भएको आरोप लगाएका हुन् ।

यादवले भने, ‘ओलीले शुरुमा संसद विघटन गर्दा ठाकुर-महतोजीले प्रतिगामी भनेर आन्दोलन गर्नुभयो । ओलीले दोस्रो पटक संसद विघटन गर्दा उहाँहरूले ‘यू’ टर्न गर्नुभयो । ठाकुर-महतोहरू प्रतिगमनको मतियार बन्न कसरी पुगे रु आश्चर्य भएको छ ।’

अध्यक्ष यादवले भने महन्थ र राजेन्द्रहरू विचारहीन, दिशाहीन, अडान नभएका नेता भन्दै जसपा एकढीक्का रहेको दावी गरे ।

उनले भने, ‘रुखका पातहरू झर्छन् । २-४ वटा पात झरेर रुख सकिँदैन । जसपा नेपाल झन सुदृढ भएको छ । हामी बलियो हुन्छौं ।’

जसपाका अध्यक्ष यादवले राजा महेन्द्रले २०१७ सालमा परिवर्तनलाई उल्ट्याए जसरी केपी ओलीले संसद दुई पटक विघटन गरेर महेन्द्र पथमा गएको आरोप लगाए । उनले ओलीको षड्यन्त्रलाई असफल बनाएको बताएका छन् । यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा रहेको भन्दै जसपाले अब नेतृत्वदायी भूमिका खेल्ने बताए ।

भदौ १ र २ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यसमितिले ७ प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । जसपाको पार्टी सुदृढीकरण मंसिरसम्म चल्नेछ ।

कार्यक्रममा वरिष्ठ नेता अशोक राई, नेता महिन्द्र राय यादव, नेतृ रेणु यादव, नेता रमेश यादव, प्रदेश २ का अर्थमन्त्री विजय यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर