‘कलम चिन्हको एकीकृत र नेकपा लोकतान्त्रिक दर्ता गर्ने दोस्रो पुस्ता हुन्, मलाई घचेटेर आफूचाहिँ भागे’ – Nepal Press

‘कलम चिन्हको एकीकृत र नेकपा लोकतान्त्रिक दर्ता गर्ने दोस्रो पुस्ता हुन्, मलाई घचेटेर आफूचाहिँ भागे’

भीम रावल समूहलाई माधव नेपालको प्रश्न : ओलीले बार्दलीबाट भुकेपछि ज्ञान आयो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेताप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । शनिवार पेशागत महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपाल केपी ओलीसँग भन्दा आफूलाई छाडेर हिडेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति आक्रोशित देखिएका हुन् ।

जसले आफूलाई एमाले फुटाउन र केपी ओलीलाई सत्ताबाट ढाल्न उक्साए उनीहरुले नै पार्टी फुटाउन बेला खुट्टा कमाएको आरोप लगाए । उनले एमाले फुटाउन निर्वाचन आयोगमा अरु दुईटा पार्टी पनि उनीहरुले नै दर्ता गराएको खुलासा गरे ।

नेपालले भने : म आज पहिलो पटक खुलासा गर्छु,कलम चिन्ह भएको नेकपा एकीकृत दर्ता गर्ने पनि दोस्रो पुस्ताका नेता हुन् । नेकपा लोकतान्त्रिक पनि उनीहरुले खोलेका हुन् । आज आएर अर्को पार्टी खोल्न पाइन्छ ? भनेर मलाई भन्ने ? केपी ओलीले बार्ददलीबाट भुकेपछि ज्ञान आयो ?

नेपालले आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको बताए । उनले भने : तिनीहरुका खुट्टा कामे काम्छन् म त अगाडि बढेँ । मलाई घचेटेर अघि बढ भन्ने,पछाडि हेर्छु त कोही पनि छैन । म कसैको सहारा लिएर हिड्ने हो ? मेरो सहारा भनेका जिल्ला तहका कार्यकर्ता हुन् ।

अध्यक्ष नेपालले सांसदबाट राजिनामा दिँदा ओलीलाई प्रधानमन्त्रीबाट ढाल्न नसकिने भएकाले विश्वासको मत लिने बेला बहिस्कार गरेको बताए । उनले भने : राजिनामा दिँदा ओली नढल्ने भएकाले विश्वासको मत लिने बेला बहिस्कार गर्यौं । सडकबाट सरकार ढाल्न सम्भव थिएन । हामीले कांग्रेस र माओवादीसँग मिलेर ओलीलाई ढाल्यौं ।

कार्ल माक्र्सले पनि पार्टी दक्षिणपन्थीले कब्जा गरेपछि कम्युनिस्ट पार्टी भंग गरेको उदाहरण दिदै आफूले नेकपा एमाले भंग गरेको बताए । नेपालले भने : कहिलेकहिँ दक्षिणपन्थीले पार्टी कब्जा गर्छन् । कार्ल माक्र्सले पनि पहिलो अन्तर्राष्ट्रिय दक्षिणपन्थीले कब्जा गरेपछि भंग गरे । दोस्रो अन्तर्राष्ट्रिय पनि दक्षिणपन्थीले कब्जा गरेपछि लेनिनले तेस्रो अन्तर्राष्ट्रिय बनाए । हामीले नेपालमा पनि विद्रोह गरेर नै ठूलो पार्टी बनाएका हौं । हामी चोइटिएका होइनौं ।


प्रतिक्रिया

2 thoughts on “‘कलम चिन्हको एकीकृत र नेकपा लोकतान्त्रिक दर्ता गर्ने दोस्रो पुस्ता हुन्, मलाई घचेटेर आफूचाहिँ भागे’

  1. राजनीतिक दृष्टिकोणबाट कहिल्यै नमेटिने अपराधिक कामलाई ढाकछोप गर्ने अर्को फजुल तर्क हो यो ! दक्षिणपन्थताको आरोप कसलाई लगाएको माधव नेपाल कमरेडले ? महाधिवेशनमा आफुलाई भोट नदिने प्रतिनिधिहरू सबै दक्षिणपन्थी देख्न थाल्नु भयो अब ? किन भने केपी ओली त प्रतिनिधिहरूसॅग मत मागेर निवार्चित हुनु भएको हो ! यदि पार्टीमा दक्षिणपन्थीहरूको वहुमत भएको कुरा सही मान्ने हो भने पनि १५ वर्ष पार्टी सत्ता तपाईले चलाउनु भयो ! त्यसपछि अहिले तपाई कै पार्टीमा वरिष्ट नेताको हैसियतमा स्थान पाउनु भएको कमलेड झलनाथ खनालले पार्टी नेतृत्व गर्नु भयो ! पार्टीमा दक्षिणपन्थी कार्यकर्ता कसको पालामा बढे छन् ? यसबाट पनि पुष्टि हुन्छ तपाईहरूबाट पार्टी नेतृत्व सम्भव छैन भन्ने कुरा !
    अनि उक्साउॅदा उक्सिने मानिसले राजनीतिक नेतृत्व कहिल्यै गर्न सक्दैन भन्ने कुरामा त कसैको पनि विमति हुदैन होला नी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर